हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले अटिजम भएका बालबालिकाका लागि विशेष सुविधायुक्त विद्यालय र अस्पताल आवश्यक रहेको बताएका छन् ।
सेन्टर फर अटिजम, मकवानपुरको चौथो साधारणसभाको उद्घाटन गर्दै उनले अटिजमको समस्या एउटा परिवारको मात्र नभई राष्ट्रकै साझा समस्या भएको बताए । आधुनिक समाजमा अटिजमसम्बन्धी समस्या बढ्दै गएकाले यसको व्यवस्थापनमा परिवारसँगै राज्यको पनि ध्यान जानुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्ष सिग्देलले अटिजम भएका बालबालिकाको विशेष अवस्थालाई ध्यानमा राखेर उनीहरूका लागि आवश्यक सुविधासहितको विद्यालय र अस्पताल सञ्चालन गर्नुपर्ने बताए । उनले तीनै तहका सरकारले समन्वय गरेर यस्ता शैक्षिक तथा स्वास्थ्य संस्था सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
अटिजम प्रभावित बालबालिकाको हेरचाह र आवश्यक सेवा उपलब्ध गराउने जिम्मेवारी परिवारमा मात्र सीमित नराखी राज्यले पनि विशेष ध्यान दिनुपर्ने उनले बताए ।
सेन्टर फर अटिजम, मकवानपुरले हाल करिब ४० जना बालबालिकालाई सेवा प्रदान गर्दै आएको छ ।
सेन्टरका अध्यक्ष हरिकृष्ण मैनालीको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष शेखर थपलियाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निसला श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको सेन्टरकी सचिव अस्मिता कालिकाले जानकारी दिइन् । साधारणसभामा सेन्टरका संरक्षक बोलबहादुर कार्की र रामजी थपलियासहित सदस्यहरूको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्