हेटौँडा । हेटौँडा उपमहानगरपालिका–७, नागस्वतीमा कात्तिक १३ गतेदेखि पाँचदिने निःशुल्क बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।
पतञ्जली योग ७ नं. वडा समितिको आयोजना एवम् ७ नं. वडा कार्यालयको आर्थिक सहयोगमा कात्तिक १७ गतेसम्म शिविर सञ्चालन हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा सञ्चालन हुने शिविर हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म चल्ने प्रचारप्रसार संयोजक नवराज खतिवडाले जानकारी दिए। उनका अनुसार शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष तथा प्रशिक्षक श्री लवदेव मिश्रले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
शिविरमा योग, प्राणायाम तथा स्वास्थ्यसम्बन्धी विभिन्न अभ्यास गराइने आयोजकले जनाएको छ । योग तथा प्राणायामका माध्यमबाट नागरिकको शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागिएको संयोजक खतिवडाले बताए । शिविरमा वात, पित्त र कफलाई सन्तुलनमा राख्ने, पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्यामा सुधार ल्याउने र मुटु, फोक्सो तथा मस्तिष्कको स्वास्थ्यमा सहयोग पुर्याउने विषयमा अभ्यास गराइने जनाइएको छ ।
त्यस्तै, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी समस्याको जोखिम न्यूनीकरणमा योगको भूमिकाबारे पनि प्रशिक्षण दिइने संयोजक खतिवडाले जानकारी दिए । पत्रकार सम्मेलनमा वडा अध्यक्ष दामोदर गौतम, पूर्व वडा अध्यक्ष राजन थापा, पतञ्जली योग जिल्ला समितिका अध्यक्ष रामकृष्ण थापालगायतको उपस्थिति रहेको थियो ।


















प्रतिक्रिया दिनुहोस्