हेटाैँडा । बैंकसम्म पुग्न घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटाउँदै मकवानपुरको विकट कैलाश गाउँपालिकाले ४६५ जना सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई वडाबाटै भत्ता वितरण गरेको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ६ वटा वडाका लाभग्राहीलाई वडा कार्यालयबाटै वितरण गरेको हो ।
गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख अशोक स्याङ्तानका अनुसार पहिलो त्रैमासिकमा ६ वटा वडाका ४६५ जना लाभग्राहीले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाएका छन् ।
भत्ता वितरण गरिएका वडामध्ये वडा नम्बर १ का ९५ जना, वडा नम्बर २ का ९६ जना, वडा नम्बर ५ का १२५ जना र वडा नम्बर ६ का ८७ जना छन् । यस्तै, वडा नम्बर ९ का ३९ जना र वडा नम्बर १० का २३ जना लाभग्राहीले वडाबाटै भत्ता बुझेका छन् ।
भत्ता वितरणका क्रममा सम्बन्धित वडाका अध्यक्ष, सुरक्षा निकायका प्रतिनिधि तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गाउँपालिकाका वडा नम्बर ३, ४, ७ र ८ का लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन्।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बैंकबाट टाढा रहेका वडाका नागरिकलाई सहज सेवा दिने उद्देश्यले वडा कार्यालयबाटै भत्ता वितरणको व्यवस्था गरिएको बताए।
भौगोलिक विकटताका कारण विशेषगरी ज्येष्ठ नागरिक, बिरामी तथा अपांगता भएका व्यक्तिलाई बैंकसम्म पुग्न कठिनाइ हुने गरेको उनको भनाइ छ। घण्टौँ पैदल यात्रा गरेर बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै गाउँपालिकाले वडाबाटै भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए।
‘घण्टौँ यात्रा गरेर बैंक आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै हामीले वडाबाटै सेवा प्रदान गरेका हौँ,’ उनले भने, ‘आगामी दिनमा पनि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने व्यवस्था निरन्तरता दिन्छौँ ।’

















प्रतिक्रिया दिनुहोस्