काठमाडौं । विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले अब सीसीएमसीसी अनलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए ।

शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।

‘म तपाईंहरुलाई एउटा खुसीको कुरा शेयर गर्न चाहन्छु,’ पर्यटन व्यवसायीहरुसँग उनले भने, ‘व्यवसायीले निकै झन्झट बेहोर्नुपरेको भनि आएको गुनासो सरकारले सम्बोधन गरेको छ ।’

सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । ‘अब पर्यटनका माध्यमबाट गाउँगाउँले लाभ लिनुपर्छ,’ उनले भने, ‘सरकारले पनि यस्तै नीति लिएको छ ।’

कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो । तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । तर, झन्झट भने कायम रहेको भन्दै व्यवसायीले हटाउन माग गरेका थिए ।

साभार अनलाइन खबर