हेटौंडा । सुख्खायाममा हुने बन डढेलोबाट जोगाउन हेटौंडा ७ को न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता एकजुट बनेका छन् ।

अन्य बन समुहमा लागेको डडेलो आफ्नो समुहको बन क्षेत्रमा आउन नदिन अहिले न्युरेनी चिसापानीका उपभोक्ता अग्निरेखा निर्माण कार्यमा जुटेका हुन् । बन जोगाउन बच्चा देखि वृद्धसम्म जुटेका छन् । बर्सेनि हेटौंडा ५ को पिप्लेपोखरा बन क्षेत्रबाट फैलिने डढेलोले हैरानी खेप्दै आएको न्युरेनी बनले डडेलोको समस्या सुरुहुनुअघी बन सिमाक्षेत्रमा अग्निरेखा बनाउन थालेको हो ।

सुख्खायाममा रुखका पात सुकेर झर्ने र डडेलो लाग्ने भएकोले डढेलो एक क्षेत्रबाट अर्को वन क्षेत्रमा नआओस भन्ने हेतुले सिमाक्षेत्रमा सरसफाइ कार्य गरेको समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले बताए ।

कान्तिलोकपथमा जोडिएको पश्चिम सिमारेखाबाट सुरु गरिएको अग्निरेखा निर्माणकार्य मकवानपुरगढीको कालिखोला सिमासम्म लैजाने र पुर्वी सिमा रानी वनक्षेत्रमा पनि चाडै नै अग्निरेखा निर्माण गरिने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ७१.३ हेक्टर क्षेत्रमा फैलिएको बन समूह २०७३ मा सर्वमान्य गणेशमान सिं वन संरक्षण पुरस्कारबाट तृतीय भएको थियो ।