हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा साढे ३० करोडको लगानीमा पालुङ वृहत्त खानेपानी आयोजना बन्ने भएको छ । खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनासँगको साझेदारीमा खानेपानी आयोजना बन्ने भएको हो ।

आयोजना निर्माणका लागि थाहा नगरपालिका, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र पालुङ वृहत्त खानेपानी आयोजना उपभोक्ता समितिबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौतामा संघीय खानेपानी आयोजनाका आयोजना प्रमुख मोहनलाल जैसी, थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट र उपभोक्ता समितिका अध्यक्ष राजकुमार केसीले हस्ताक्षर गरेका छन् ।

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा लागू हुने खानेपानी आयोजनाको कुल लागत ३० करोड ५० लाख ७८ हजार ३०१ रुपियाँ रहेको सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाबाट चारवटा वडाका २३ हजार २२९ जनसंख्या लाभान्वित हुने नगर प्रमुख विष्टले जानकारी दिए ।

सम्झौता अनुसार आयोजनाका लागि लाभान्वित क्षेत्रका नागरिकले ६ करोड ५ लाख ७४ हजार ६४८ रुपैयाँ बराबर श्रमदान गर्नुपर्ने छ भने ३० लाख ५० हजार ७८३ रुपैयाँ नगद दाखिला गर्नुपर्ने छ । नागरिकले नगद दाखिला गर्नुपर्ने बजेट नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख विष्टले बताए । उनले भने, ‘लाभान्वित परिवारले श्रमदान मात्र गरे पुग्छ, नगद हामी दाखिला गरिदिन्छौं ।’

कुल ५०.२४ किलोमीटर प्रशारण लाइन रहेको आयोजना आर्थिक वर्ष २०८०÷०८१ सम्म निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । आयोजना अन्तर्गत वितरण पाइपलाईन १०२.५४ किलोमिटर हुने र ३ हजार १४५ वटा व्यक्तिगत धारा, आवश्यकता अनुसार सामुदायिक र संस्थागत धारा निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

खानेपानी आयोजनाका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खानेपानी आयोजनाको डिजाइन लागत इष्टिमेट तयार गरी, स्वीकृत गराउनु पर्नेछ भने बहुवर्षीय खरिद गुरुयोजना तयार गर्ने र ठेक्का प्रक्रिया गर्ने त्रिपक्षीय सम्झौतामा उल्लेख छ ।

कुल लागतको ८० प्रतिशत रकम नेपाल सरकारबाट उपलब्ध गराउने, उपभोक्ता समितिको क्षमता अभिवृद्धि गराउने, उपभोक्ता समितिको जनसहभागीताको मूल्याङ्कन गर्ने, योगदान कायम गराउने समेतको कार्य संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नुपर्नेछ ।
साभारः अनलाइन खबर