कास्की । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद दवाडीले स्थानीय निकायको निर्वाचनका बेला जनता संग गरेको बाचा पुरा गरेको बताएका छन । उनले वडाको विकास गर्न इमान्दारीताको साथ काम गरेको बताए ।

अनिरुद्र खबर संग कुराकानी गर्दै उनले शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक, खेलकुद, खानेपानी, बिजुलीको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएको बताए । निर्वाचित भएर आएपछि एक बर्ष नीति नियम र कानुन बनाउने काममै अल्झिएको स्मरण गर्दै उनले कोभिड महामारीले दुई बर्ष थलाएको र त्यसपछिको समयमा मात्रै वडाको काम रफतारले गर्न पाएको बताए । वडावासीले महसुस गर्नेगरि काम गरेको उनले सुनाए ।

कृषि क्षेत्रमा अब्बल यस वडामा चिया बगान र अलैची खेती गरिएको छ । कृषिका लागि यस वडाले कृषकलाई अनुदान समेत उपलब्ध गराएको छ । यस वडाको ठाटीमा आधारभूत स्वास्थ्य केन्द्र र ल्वाङ्गमा आधारभूत स्वास्थ्य ईकाइ रहेको छ । स्वास्थ्य केन्द्र र इकाइ मार्फत यहाँका जनताले सुलभ तरिकाले स्वास्थ्य सेवा पाएका छन ।

भौगोलिक हिसावले विकट मानिएको यस वडामा ७ वटा बिद्यालयहरु रहेका छन । कक्षा १ देखि ५ सम्मको ३ वटा, कक्षा १ देखि ८ सम्म अध्यापन हुने ४ वटा बिद्यालय यस वडामा अवस्थित रहेको छ । कम्तीमा १२ कक्षा सम्मको बिद्यालय यस वडामा आवश्यक भएपनि स्थापना गर्न नसकिएको वडा अध्यक्ष दवाडीले बताए ।

यस वडाको पहिलो निर्णय एक घर एक खानेपानी कार्यक्रम अन्तर्गत ११ वटा टोल मध्ये ९ वटामा खानेपानीको धारा पुर्‍याएको बताउँदै उनले २ वटा टोलमा खानेपानीको पाइप पुर्‍याउने काम अन्तिम चरणमा पुगेको बताए ।
युवा वर्गलाई खेलकुद संग समेट्न यस वडामा वडा स्तरीय खेल मैदान पनि निर्माण गरिएको छ । यस वडामा बेला बेला फुलबल प्रतियोगिता संचालन गर्ने गरिएको वडा अध्यक्ष दवाडिले बताए ।

यस वडामा पर्यटन क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ । यस वडामा ५ वटा होम स्टेहरु संचालनमा रहेको वडा अध्यक्ष दवाडीले बताए । यस वडामा समावेशी सामुदायिक होमस्टे, ल्वाङ्ग सामुदायिक होमस्टे, कोलेली सामुदायिक होमस्टे, घलेले सामुदायिक होमस्टे र कालीमाटी सामुदायिक होमस्टे रहेको छ । होमस्टे संचालन गर्नका लागि प्रदेश सरकार, गाउँपालिका र वडा स्तरबाट जनतालाई सहयोग गरिएको वडा अध्यक्ष दवाडीको भनाई छ ।

सुरक्षाका लागि वडा नम्बर ६ मा अस्थायी प्रहरी पोष्ट वडा अध्यक्ष दवाडिकै पहलमा राखिएको थियो । यस वडामा इदी खोला, ल्वाङ्ग, खोराको मुख, नयाँ पुल, साखु, कोलेली, लुम्रे, घलेल, कालीमाटी, केशवाङ लगायतका मुख्य स्थान हुन । साविकको ल्वाङ्ग घलेलको १ देखि ५ वडाहरु मिलेर यस वडा नम्बर ८ बनेको हो । यस वडा २० दशमलव २३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । ७ सय घर धुरी रहेको यस वडामा २ हजार ६ सय ९१ जनसंख्या रहेको छ । यस वडामा ब्राम्हण, क्षेत्रि, दलित र जनजाती समुदायको बाहुल्यता रहेको छ । यस वडाको पूर्व सिमाना माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५, पश्चिम तर्फ अन्नपुर्ण गाउँपालिका उत्तर तर्फ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ र दक्षिण तर्फ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ र ७ अवस्थित रहेको छ । माछा माछापुच्छ्रे गाउँपालिकाको वडाहरु मध्य कै विकट वडामा पर्दछ ।

अनिल पराजुली
थप जानकारी