हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा मकवानपुरका महिला पत्रकारहरुलाई नियमित रुपमा सेनिटरी प्याड उपलब्ध गराइने भएको छ । निशुल्क दूर्घटना बिमा, उपचार कोष जस्ता सुविधालाई निरन्तरता दिइरहेको महासंघले नियमित रुपमा सेनिटरी प्याड निशुल्क उपलब्ध गराउने भएको हो ।

सेनिटरी प्याडको लागि महासंघले औषधि व्यवसायी संघ मकवानपुरको सहयोग लिने भएको छ । औषधि व्यवसायी संघले मासिक रुपमा महिला पत्रकारलाई आवश्यक हुने सेनिटरी प्याड महासंघमार्फत हस्तान्तरण गर्न सहमति जनाएको छ । सहमति बमोजिम नै संघले मंगलबार पत्रकार महासंघलाई सेनिटरी प्याड हस्तान्तरण गरेको छ । संघले महासंघको कार्यालयमै पुगी अनुमानित एक महिनाको लागि आवश्यक हुने सेनिटरी प्याड महासंघ अध्यक्ष मणिराज गौतम र कोषाध्यक्ष केशव समर्पणलाई हस्तान्तरण गरेको छ ।

सेनिटरी प्याड हस्तान्तरण कार्यक्रममा औषधि व्यवसायी संघका बागमती प्रदेश सदस्य सुधिर दाहाल, मकवानपुरका कार्यबहाक अध्यक्ष नारायणलाल श्रेष्ठ, महासचिव संघर्ष गुरुङ, कोषाध्यक्ष तथा सेनिटरी प्याड संयोजन समितिका संयोजक विष्णु थापा, संघका कार्यसमिति सदस्य भरत कार्की, नाजिलाल लामालगायतको उपस्थिति रहेको थियो । प्याड हस्तान्तरण गर्दै संघका कार्यबहाक अध्यक्ष नारायणलाल श्रेष्ठले अबदेखि नियमित रुपमा आवश्यक सेनिटरी प्याड महासंघलाई उपलब्ध गराइने प्रतिवद्धता जनाए ।

महासंघले बुधबार एक कार्यक्रममार्फत सञ्चारिका समूह मकवानपुरलाई सेनिटरी प्याड वितरणको जिम्मा दिने भएको छ । प्राप्त सेनिटरी प्याड महिला पत्रकारलाई आवश्यकताको आधारमा नियमित वितरण गर्न सञ्चारिका समूहलाई जिम्मेवारी दिन लागिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।