हेटौंडा । हेटौंडा क्याम्पस अगाडि लामो समयदेखि पानी पुरी र चटपटेको व्यापार गरेर जिविका धानेका भरत साह अहिले तनावमा छन । जसोतसो जीविका धानेका शाहलाई अहिले छटपटी भएको छ, उनको छटपटीको कारण, उनले छोरी छतबाट खसेर अस्पतालमा उपचार गराउँदा लागेको मिटर व्याजको ऋण तिर्न नसकेर हो ।

जीविका जसोतसो धानेका साहलाई छोरीको उपचार गराउन हम्मे हम्मे परेपछि उनले चिनेका जानेका मार्फत मिटर व्याजी संग ऋण लिए, छोरीको उपचार गराए, तर उनले ब्याजमा लिएको रकमको ऋण अहिले सम्म तिरिरहेका छन । उनका छोराले हेटौंडाको न्युज क्वलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २०७२ सालमा एक लाख लिएको ऋणको मासिक १२ हजारका दरले ब्याज तिर्दा अहिले सम्म ४ लाख बढी बुझाउँदा पनि ऋण मुक्त हुन नसकेको गुनासो गरे ।

उनी जस्तै करिव एक दर्जन बढी मिटर ब्याजबाट पीडित भएपछि हेटौंडामा पत्रकार सम्मेलन मार्फत गुनासो पोखेका हुन । मिटर ब्याजमा पैसा लगाएर अबैध असुली बढेपछि पीडितले हारगुहार मागेका थिए । पीडितहरुले आफुहरुको मजबुरीको फाईदा उठाउँदै मिटरब्याजमा पैसा लगाउनेले नियोजित रुपमा फसाउन खोजेको आरोप लगाए ।

पीडित अनोज परियारका अनुसार हेटौंडा–२ नगरपालिका रोडका दिनेश केसी उर्फ दिनेश बाबा नाम गरेका ब्यक्तिले आफुहरुको मजबुरीको फाईदा उठाउँदै आफुहरुलाई पीडा दिएको गुनासो गरे । केसीले रकम दिनेबेलामा कागज बनाउने तर त्यो कागज ऋण चुक्ता गर्दा समेत नदिएर उल्टै मुद्धा हाल्ने काम गरि आफुहरुलाई पीडा दिएको उनको आरोप छ ।

चौकिटोलकी सन्तोषी लामाले आफुले २० लाख ऋण लिएर प्रत्येक महिना ब्याज तिरेपनि ३० लाखको कागजात बनाएर आफुहरुलाई तनाव दिएको आरोप लगाइन । आफुलाई २० लाख रुपैँया ऋण दिएकोबारे कागज बनाउने ब्यवसायीलाई समेत जानकारी रहेको तर उनले जवरजस्ती ३० लाख रुपैँयाको कागज गरेर दैनिक तनाव दिने काम गर्ने, जग्गा रोक्का फुक्का गर्न नमान्ने गरेको गुनासो गरिन ।

त्यस्तै हर्नामाडीका केशव पौडेल पनि पीडित बनेको गुनासो गरे । उनले ९ लाख ५० हजार ऋण लिएकोमा करिव ९ महिनाको अवधिमा १४ लाख ४० हजार बुझाएको बताए । २०७४ सालमा उनले ऋण लिएका थिए भने २०७५ सालमा घर बेचेर ऋण चुक्ता गरेपनि ऋण लिदाको बखत बनाएको कागज र दिएको चेक समेत फिर्ता नपाएको गुनासो गरे । उनले मिटर ब्याजको चक्रब्यूमा आफुपनि फसेको गुनासो गरे ।

त्यस्तै पीडक आरोप लागेका केसी संग घटनाबारे थप जानकारीका लागि सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । यहाँका स्थानीका अनुसार केसीले झारफुक पनि गर्ने गरेको बुझिएको छ ।