हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरमा स्थानीय तहको सबैभन्दा धेरै उजुरी परेका छन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिकाको उजुरी धेरै परेको हो ।

अख्तियारका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा धेरै उजुरी परेका हुन् । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोगका सूचना अधिकारी विष्णु प्रभा सापकोटाले जानकारी दिए ।

आयोगको हेटौंडा स्थित कार्यालयले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो । हेटौंडा उपमहानगरपालिकामा बितेको आर्थिक वर्षमा मात्र १२४ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षमा ४५ वटा मात्र उजुरी परेका थिए ।

यसैगरी थाहा नगरपालिकामा दुइ वर्षको बिचमा ८ वटा उजुरी परेका छन् । इन्द्र सरकोवर गाउँपालिकामा ४ वटा, कैलाश गाउँपालिकामा १२ वटा, बकैयाको २१ वटा, बागमती गाउँपालिकाको ६ वटा, भीमफेदी गाउँपालिकाको १२ वटा, मकवानपुरगढी गाउँपालिकाको २० वटा, मनहरी गाउँपालिकाको ४२ वटा, राक्सिराङ गाउँपालिकाको १६ वटा उजुरी दुइ वर्षमा परेको सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मकवानपुरमा सबैभन्दा हेटौंडा उपमहानगर पछि मनहरी गाउँपालिकाबाट सबैभन्दा बढि उजुरी दर्ता भएको छ । उजुरीमा रसिद दुरुपयोग भएका प्रवृतिका उजुरी सबैभन्दा बढी परेको छ । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेका छन् ।

प्रायः सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी आएको छ । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु दर्ता भएको छ ।

परेका उजुरीहरुको छानविन गर्ने र फच्यौट गर्ने काम भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले जानकारी दिए । भ्रष्टाचारले देशलाई खोक्रो बनाउने काम गर्ने भएकाले भ्रष्टाचार रोक्न सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय अख्तियारमा स्थानीय तहको धेरै उजुरी परेको जिकिर गर्दै स्थानीय तहको जिम्मेवारी पनि बढेको र उजुरी पनि बढेको बताए । मिडियासंगको सहकार्यमा अख्तियारको कार्यालयले काम गर्ने उनको भनाई छ ।