हेटौंडा । मकवानपुर जिल्लामा जापानिज इन्सेफलाइटिस लागेका तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी र बकैया गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो । साउन र भदौं महिनामा १२ जना जापानिज इन्सेफलाइटिसका शंकास्पद विरामी फेला परेका थिए । जसमध्ये ४ जनामा जापानिज इन्सेफलाइटिस देखा परेको थियो । जापानिज इन्सेफलाइटिस पोजेटिभ देखिएका ४ जना मध्ये ३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
उनका अनुसार बकैया गाउँपालिका वडा नं. ७ का २ जना र हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडीमा एक जनाको मृत्यु भएको हो । लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ ।
जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको सरुवारोग हो । यी लामखुट्टेले संक्रमित घोडा, सुँगुर, बंगुर, हाँसजस्ता पशुपक्षीलाई टोकेपछि तिनै लामखुट्टेले मानिसलाई टोकेमा जापानिज इन्सेफलाइटिस रोग सर्दछ । तर, पशुपक्षीलाई टोकेर आएको जीवाणुले लामखुट्टेलाई कुनै असर गर्दैन । यसरी मानिसलाई टोकेपछि जीवाणु (भाइरस)ले मस्तिष्कमा असर पु र् याउँछ, अनि धेरै ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन् । यो रोग लागेपछि बिरामीलाई पक्षाघात हुने, अपांग हुने हुन्छ भने अन्तमा मृत्युसमेत हुन सक्ने सूचना अधिकारी घिमिरेले बताए ।












प्रतिक्रिया दिनुहोस्