हेटौंडा । हेटौंडामा निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा दिवस मुल समारोह समिति, बागमती प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो । दिवसका अवसरमा आज हेटौंडामा बिभिन्न कार्यालयहरुबाट ब्यानरसहित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्राङ्गनमा पुगेर सभामा परिणत भएको थियो । ‘ब्यावसायीक र सिर्जनशिल प्रशासनः विकास समृद्धी र शुशासन’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सँधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द निरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।