
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिव १५ किलोमिटरको दुरीमा रहेको अस्थायी प्रहरी पोष्टको कच्ची घर जीर्ण अवस्थामा छ । प्रदेशको राजधानी नजिकै भएपनि यो प्रहरी पोष्टको कच्ची घर जीर्ण अवस्थामा रहेको हो ।
१५ बर्ष अगाडि स्थापना भएको प्रहरी पोष्ट पुरानो काठको घरमा जस्ताले घेरिएको जीर्ण अवस्थामा रहेको हो । प्रहरी बस्ने काठको कच्ची घर जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य छन् । हेटौंडा–काठमाडौं जोड्ने पुरानो सडक कान्तिलोकपथमा पर्ने यो प्रहरी पोष्टको अहिले कन्तविजोग छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. २ मा अवस्थित प्रहरी पोष्ट २०६४ साल चैत्र १ गते स्थापना भएको थियो । यहाँको प्रहरीले बकैया गाउँपालिका वडा नं. ११, १२ र मकवानपुरगढी गाउँपालिका २ र ७ मा सेवा दिर्दै आएको छ । प्रहरी हवल्दार राजकुमार महत्तोको कमाण्डमा यहाँ सहायक हवल्दार दुई र प्रहरी जवान दुई जना रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरमा असार २० गते सरुवा भएर आएका प्रहरी हवल्दार महत्तोलाई वर्षामा चिन्ताले निन्द्रा लाग्दैन । पानी परेपछि पहिरो जाने त्रासले सताउने गरेको उनले गुनासो गरे । पुरानो, जीर्ण अवस्थामा रहेको काठको घरमा खाना पकाउने सहित तीन वटा कोठामात्रै रहेको छ ।
संचारले फड्को मारेको अवस्थामा पनि प्रदेश राजधानी नजिक रहेको प्रहरीको अवस्था दयनिय रहेको छ । बजेट अभावका कारण प्रहरी पोष्टमा इन्टरनेट समेट जडान गर्न नसकिएको यहाँका प्रहरीको गुनासो छ ।
यहाँ खानेपानीको पनि अभाव रहेको छ । करिव दुईसय मिटर तलबाट पिउनेपानी, कपडा धुने, नुहाउने र अन्य कामका लागि पानी ल्याएर ड्रममा जम्मा गर्ने गरेका छन् । जितपुर भन्ज्याङको थुम्कीमा रहेको पुरानो जीर्ण काठको घरमा बसेका प्रहरीलाई गस्ती गर्ने सवारी साधनको समेत अभाव रहेको छ । कहि कत्तै दुर्घटना हुँदा प्रहरीहरु दुर्घटना स्थल पुग्न अरुको सवारीमा लिफ्ट र सहयोग मागेर जानुपर्ने बाध्यता रहेको छ ।
नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने प्रहरी नै जोखिमको भवनमा बस्न बाध्य छ । जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै यहाँ असुरक्षित रहेको पाइएको छ । स्थानीय वनको जग्गामा आश्रय लिएर बसेका प्रहरीका लागि स्थानी भवन संरचना निर्माणका लागि जग्गा समेत छैन ।
हाल निर्माणाधिन दु्रत मार्गको काम भईरहेको यस स्थानमा सवारी दुर्घटना तथा दु्रत मार्ग निर्माण स्थलमा हुने झैं झगडा र सामान चोरीका घट्ना यहाँ आउने गरेको प्रहरीले बताए ।
चौकी निर्माण कागजमै सिमित
करिव दुई बर्ष अघि अर्थात २०७७ साल मंसिर १९ गते यहाँका स्थानीय तथा सरोकारवालाले अस्थायी प्रहरी चौकी निर्माण गर्ने निर्णय गरेपनि त्यो कागजमै सिमित भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नं. २ जितपुर भन्ज्याङमा अस्थायी प्रहरी चौकीको भवन निर्माणका लागि मोहरे ढुंङ्गे गढी टोलविकास संस्थाका अध्यक्ष सुधारजित गोले सहित तत्कालिन समयका जनप्रतिनिधिको उपस्थितीमा चौकी निर्माण गर्न भएको निर्णय कागजमै सिमित भएको हो । तत्कालिन समयमा चौकी निर्माणका लागि गढी गाउँपालिका र बकैया गाउँपालिकाले आर्थिक सहयोग गर्ने, चौकीको घडेरी खार्न शिवम् सिमेन्ट उद्योगले सहयोग गर्ने लगायतको निर्णय भएपनि सबै कागजमै सिमित भएको छ । यहाँका प्रहरीले चौकी निर्माणका लागि पालिकाहरुलाई आवश्यक सहयोग गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्