मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ । शनिको आद्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ, अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । मदिरा, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा भने उल्झन र नोक्सानी हुनसक्छ । लगानी गरेको ठाउँबाट लाभ भए पनि आय भन्दा व्यय बढ्नेछ । सञ्चित धनको पनि नास हुनसक्छ । शेयर बजार सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । आर्थिक दृष्टिले जेठ, भाद्र र पुष महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडेकै राम्रो रहनेछ । पुराना प्रेम र मित्रताको बन्धनले भने प्रेम सम्बन्धलाई विवाहमा परिणत समेत गर्न सकिनेछ, तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद बढ्नसक्छ र नजिकैका व्यक्तिसँग मतभेद पनि बढ्नसक्छ ।

शिक्षा
यो वर्ष अध्ययन अध्यापनबाट सफलता मिल्नेछ । वर्षको मध्यबाट शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला, तर वर्षको अन्यमा भने शैक्षिक क्षेत्र राम्रो हुनेछ । आई. टी. र शोध विषयका विद्यार्थीहरूले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून र वाणिज्य विषयका विद्यार्थीहरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ जागिर वा रोजगारको अवसर मिल्नेछ । सरकारी जागिर खान भने सजिलो छैन अत: बढी मिहिनेत गर्नपर्ने देखिन्छ । नयाँ ठाउँमा लगानी गर्नु पूर्व भने विचार गर्नु पर्छ । रोजगारका लागि विदेश जानेहरूका लागि भने राम्रो छ साथै वैदेशिक जागिरेहरूलाई सरुवा र बढुवाको योग पनि छ । मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य
यो वर्ष प्रजनन, छाला र आँखाको समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । राम्रो स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुपर्ला ।

शुभ रङ्ग
घ्यू रङ्ग, सुन्तला रङ्ग, सेतो र रातो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ५, ६ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि गराउनको लागि राहु, केतु र शनिको ग्रह शान्ति, जप, पाठ र पूजा गरि सत्य बोल्नाले राम्रो हुन्छ । बिहीवारकै दिन केराको वृक्षारोपण र पूजन गर्नाले शुभफल पाइनेछ । प्रत्येक शुक्रबार महालक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले र शुक्रबारको सेतो पहिरनले पनि भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो