एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको मङ्गलवार बेलुकी उद्धार भएको हो ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेटेका छन । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएको थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।

९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक÷एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो ।

उद्धार गरेका मजदुरलाई अस्पताल लैजानका लागि एक दर्जनभन्दा धेरै एम्बुलेन्स तयारी अवस्थामा छन् । प्राथमिक उपचारका लागि सुरुङ स्थलमै आठ शय्याको अस्पताल स्थापना गरिएको छ । यदि मजदुर गम्भीर भएमा उद्धारका लागि हेलिकप्टर पनि तयारी अवस्थामा छ । अस्पतालमा सबै सुविधासहित डाक्टरलाई खटाइएको छ ।

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि अमेरिकाबाट समेत मेशिन र इन्जिनियर झिकाएर काम भइरहेको थियो । तर कहिले पहिरो जाने र कहिले मेशिन बिग्रने भएपछि उद्धारमा ढिलाइ भएको हो । फसेका मजदुरहरूलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको थियो ।