पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाइरहेको बेला सत्ता साझेदार मुत्ताहिदा क्वामी मुभमेन्ट एमक्यूएम विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।

सत्ता साझेदार दल एमक्यूएमले समर्थन फिर्ता गरेसँगै खान नेतृत्वको सरकारले तल्लो सदनमा बहुमत गुमाएको छ । संसदमा सरकार समर्थक सांसदको संख्या एक सय ६४ छ भने विपक्षी सांसदको संख्या एक सय ७७ छ । बहुमतका लागि एक सय ७२ सांसदको आवश्यक पर्ने हुन्छ ।

विपक्षी दलले प्रधानमन्त्री खान विरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलिदेखि छलफल हुने छ भने आउँदो आइतबार अविश्वासको प्रस्तावमाथि मतदान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भ्रष्टाचारमा संलग्न भएको भन्दै पाकिस्तानका प्रधानमन्त्री खान विरुद्ध विपक्षी दलले विरोध गर्दै आएको छ । तर, खानले आफू माथि लागेको आरोपको खण्डन गर्दै आएका छन ।