पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । सन् १९४७ मा भारतबाट छुटिएर स्वतन्त्र देश बनेको पाकिस्तानमा १९ औँ प्रधानमन्त्री बनेका इमरान खान अविश्वासको प्रस्तावबाट बर्खास्त भएसँगै अहिलेसम्मका सबै प्रधानमन्त्रीले पूरा कार्यकाल काम गर्न नपाएका हुन् ।

पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलीको सन् १९५१ मा हत्या भएको थियो । लियाकत अली पछिका सात जना प्रधानमन्त्रीले राजीनामा दिए । चार जना सैन्य ’कु’ बाट र एक जना राष्ट्रपतिबाट अपदस्थ भए । दुई जनालाई अदालतले दोषी ठहर गरेर अयोग्य घोषणा ग¥यो । तीन जनाले राष्ट्रिय सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि पद त्याग गरे । तर उनीहरूले पूर्ववर्ती प्रधानमन्त्रीको बाँकी कार्यकाल सम्हालेका थिए ।

अविश्वासको प्रस्तावबाट बर्खास्त हुने इमरान खान पहिलो प्रधानमन्त्री हुनुहुन्छ । पाकिस्तानमा पटक–पटक गरी झन्डै तीस बर्ष सेनाले शासन गरेको छ । पाकिस्तानमा सरकार गठन तथा सत्ता सञ्चालनका लागि सेनाको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

राजनीतिक अस्थिरता, सैन्य शक्ति, व्यापक भ्रष्टचार, आतङ्कवादी समस्याका कारण पाकिस्तानको संसद् र सरकार अस्थिर बन्ने गरेको छ । भारतसँगको तनाव र अमेरिकी प्रभावका कारण पनि पाकिस्तानी राजनीतिमा समस्या दोहोरिहने अन्तर्राष्ट्रिय विज्ञहरू बताउँछन् ।
साभारः उज्यालो अनलाइन