श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ ।

दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव छ । मूल्यवृद्धि अत्याधिक भएको छ । अभाव र मूल्य वृद्धिको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण राजनीतिक सङ्कट पनि थपिएको छ । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेको छ । तर प्रभावकारी काम हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रदर्शनकारीलाई वार्तामा आउन यसअघि आग्रह गरेका थिए । तर वार्ता हुन सकेको छैन ।

मङ्गलवार मात्रै श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि औषधि, इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने गभर्नर पी. नन्दलाल विरासिङ्घेले बताए ।