एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५२ दिन पूरा भएको छ । आक्रमणका कारण एक करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।

हजारौँ नागरिक युद्धग्रस्त क्षेत्रमा फसेका बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि आक्रमण सुरु भएको हो ।

युक्रेनको राजधानी किएभसहितका मुख्य सहरमा ठूलो क्षति पुगेको छ । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ । तर यो दाबीको पुष्टि हुन सकेको छैन । त्यस्तै, झन्डै १४ हजार युक्रेनी सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको थियो ।

दुवै पक्षका सयौँ लडाकु विमान, हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । यसैबीच, आज बिहानै किएभमा शक्तिशाली विस्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनको राजधानी किएभ र वरपरको क्षेत्रबाट जम्मा गरिएका नौ सय शव फोरेन्सिक विज्ञलाई हस्तान्तरण गरिएको छ ।