भारतका दिल्ली, राजस्थान, उत्तर प्रदेशलगायत कयौँ राज्य अत्यधिक गर्मीको चपेटामा परेका छन् । केही जिल्लाको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तातो हावा र गर्मीका कारण जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको मौसम विभागले आउँदाे चार/पाँच दिनमा तापक्रम थप बढ्ने चेतावनी दिएको छ । तापक्रम वृद्धिसँगै तातो हावा चल्न थालेपछि भारत सरकारले अलर्ट जारी गरेको छ । ‘लु’ र गर्मीबाट जोगिन राष्ट्रिय कार्य योजनाको निर्देशन पालना गर्न केन्द्र सरकारले आग्रह गरेको छ ।

देशको पश्चिमी, मध्य र  उत्तरी क्षेत्रमा तापक्रम अझै बढ्ने अनुमान गरिएको भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले ‘लू’ बाट जोगिने सबै उपाय अपनाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो सँगै स्वास्थ्य मन्त्रालयले आउँदो १५ तारिखसम्म ‘लु’ बाट जोगिन आवश्यक उपाय अपनाउन भनेको छ ।

यस्तै, सबै राज्यका स्वास्थ्य केन्द्रमा ‘लु’ सँग सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने औषधिको व्यवस्था गर्न र बिरामीको समयमा नै उपचार गर्न पनि निर्देशन दिइएको छ । यस्तै, स्वास्थ्य केन्द्रमा खानेपानी र बिजुलीको आपूर्तिलाई पनि सुनिश्चित गर्न भनिएको छ ।