एजेन्सी । युक्रेनले मस्कोसमर्थित पृथकतावादीहरूकाे नियन्त्रणमा रहेकाे पूर्वी क्षेत्रस्थित रुसी प्राकृतिक ग्यासकाे प्रवाह राेकिदिएकाे छ । युद्धकाे ७७औँ दिन प्राकृतिक ग्यास पाइपलाइन सञ्चालकले पूर्वी युक्रेनकाे एक हिस्सामा आफ्नाे नाेभाेप्सकाेभ केन्द्रकाे माध्यमले बुधबारदेखि ग्यास बन्द गरिदिएकाे सीएनएनले लेखेकाे  छ । यस्तो कदम चाल्नुका पछाडि युक्रेनले मस्कोलाई दोषी मानेको छ । याे केन्द्रले पश्चिमी युराेप जाने रुसी ग्यासकाे एक तिहाई भाग सम्हाल्छ ।

२४ फेब्रुअरीदेखि सुरु भएकाे युद्धमा पहिलाेपल्ट प्राकृतिक ग्यासकाे आपूर्ति प्रभावित भएकाे हाे । यसले रुसलाई युरोपमा आफ्ना ग्राहकहरूसम्म पुग्न युक्रेन नियन्त्रित क्षेत्रकाे माध्यमबाट ग्यास प्रवाह स्थानान्तरित गर्न बाध्य गर्न सक्छ । यद्यपि, गजप्रोमका प्रवक्ता सर्गेई कुप्रियनोभले प्राविधिकरूपमा यस्ताे गर्न सम्भव नहुने दाबी गरे ।

उता, युक्रेनी शहर खारकिभसहित अन्य चार गाउँबाट रुसी सेनालाई लखेटेकाे दाबी युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले गरेका छन् । तर, रुसी सेनाले डाेनबासकाे ठूलाे क्षेत्र कब्जा गरिसकेकाे छ । युक्रेनका विदेशमन्त्री  दिमित्रो कुलेबाले पहिल्यै भनेका थिए, ‘हामी रुसले कब्जा गरेका क्षेत्रबाट उसलाई हटाउने छाैँ  । यसका लागि हामी रूसलाई बाध्य पार्ने छाैँ ।’