हेटौंडा । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई÷मधेस द्रुतमार्गको प्रगति सुस्त गतिमा रहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक बर्षको असोज मसान्त सम्मको भौतिक प्रगति २९ दशमलव १४ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजनाको मोविलाइजेसनसहित वित्तीय प्रगति भने २९.३२ प्रतिशत रहेको छ । उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरूमध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

त्यस्तै, द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८ क, ९ क र ९ खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८ क, ९ क र ९ खको २०८० साल भदौ १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइरहेको जनाइएको छ ।

त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा मकवानपुरको भीमफेदी स्थित महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भदौ १ गते बोलपत्र आह्वान भएको छ । आयोजनाको करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरू गर्नेगरी तयारी अवस्थामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिए ।

हालसम्म निर्माणाधीन तीन वटा सुरूङ्गमार्गहरूको जम्मा लम्बाइ ६.४१५ किलोमिटरमध्ये ३०५० मिटर सुरूङ निर्माण कार्य सम्पन्न भएको उहाँले जानकारी दिए । अर्थात ४७.५५ प्रतिशत सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ । जसअनुसार सुरुङ मार्गको प्याकेज नं. १ अन्र्तगत महादेवटार सुरुङको जम्मा लम्बाई ३३५५ मिटरमध्ये हालसम्म १४७० मिटर, प्याकेज नं. २ अन्र्तगत धेद्रे सुरूङ मार्गको जम्मा लम्बाइ १६३० मिटरमध्ये हालसम्म ७६५ मिटर र प्याकेज नं. ३ अन्र्तगत लेनडाँडा सुरुङको जम्मा लम्बाई १,४३० मिटरमध्ये हालसम्म ८१५ मिटर सुरूङ निर्माण कार्य सम्पन्न भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

आयोजना अन्तर्गत रहेका जम्मा ८९ वटा पुलहरु मध्ये प्याकेज न.ं १ देखि ७ सम्मका ६२ वटा पुलहरु निर्माणाधिन रहेको छ । हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ७ सम्मका ६२ वटा पुलहरूको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरूमध्ये १ हजार १ सय २० वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म ३ वटा पुलहरुको सुपरस्ट्रक्चरको कार्य समेत सम्पन्न भएको छ ।

आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको छ । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

कटान गरिएका रूखहरूको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरूवाहरू रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ६५ हजार ५ सय ३८ बिरूवा रोपिएको छ । स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रूखहरूमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रूखहरू कटान भएको र बाँकी १० हजार १८ वटा रूखहरू कटान गर्ने प्रक्रियामा रहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ ।

२०७४ साउनमा चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०÷८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पुरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा १ खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर २ खर्ब १३ अर्ब पुगेको छ । आयोजनाको भौतिक प्रगति भने २९ प्रतिशतमा सीमित छ । चीनका ६ वटा फरक–फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौंसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।

अनिल पराजुली
थप जानकारी