हेटौंडा । मकवानपुरमा विभिन्न ट्राफिक कारबाहीबाट एककरोड सोह्रलाख रुपियाँ राजस्व सङ्कलन भएको छ । पछिल्लो छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मकवानपुरमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।

ट्राफिक कारबाहीबाट चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा कुल एक करोड १६ लाख ४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १५ हजार ८५५ सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा तीन करोड ६९ लाख ६७ हजार रुपियाँ ट्राफिक कारबाहीबाट राजस्व रकम सङ्कलन भएको थियो । यो वर्ष छ महिनाको अवधिमा आधाभन्दा कम रकम सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताए । ट्राफिक सचेतना फैलाएसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने घटेकाले राजस्वको रकम सङ्कलनमा पनि कमि आएको आचार्यको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो । चालू आवमा सबैभन्दा बढी मङ्सिर महिनामा २७ लाख २४ हजार र कम साउन महिनामा १२ लाख १२ हजार राजस्व रकम सङ्कलन भएको छ । ट्राफिक कारवाहीमा सबैभन्दा बढी मोटरसाइकल ४ हजार ७४४ र सबैभन्दा कम ट्याक्टर २९४ कारवाहीमा परेको तथ्याङक छ ।

त्यस्तै चालु आवको छ महिनामा तोकिएको क्षमताभन्दा बढी भार (ओभरलोड) बोक्ने एकहजार ५६४ सवारीलाई कारवाही गरिएको छ । ओभरलोड बोक्ने एकजार ५२६ सवारी कारवाहीबाट १५ लाख ७१ हजार रुपियाँ र यातायात कार्यालय मार्फत ३८ सवारी कारवाहीबाट ६ लाख २६ हजार ६४५ रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक आचार्यले ओभरलोडका कारण दुर्घटना हुनुका साथै सडकसमेत बिग्रिएकोले ओभरलोड नियन्त्रण गर्न प्रहरी लागि परेको बताए ।

ट्राफिक प्रहरीले आव २०७७/७८ मा ३२ हजार २३९ सवारी कारवाहीबाट २ करोड ७१ लाख ६ हजार ५००, आव २०७८/७९ मा ३० हजार ३२७ सवारी कारवाहीबाट २ करोड ३६ लाख ९० हजार ५०० र आव २०७९/८० मा ४७ हजार ८९९ सवारी कारवाहीबाट ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको तथ्याङ्क छ । गत आवको तुलनामा चालु आवको छ महिनाको तथ्याङ्कलाई आधारमान्दा सवारी साधन कारवाही संख्या र राजस्व दुबै आधा भन्दा बढी घटेको छ । गोरखापत्रबाट