हेटौँडा । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा निर्माण भएको पाउडर दूध (धुलो दूध) उत्पादन उद्योग संचालनमा अन्योल देखिएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सो मातहतको प्रदेश दुग्ध विकास बोर्डद्वारा स्थापित उद्योग संचालन मोडल तय हुन नसक्दा अन्योल भएको हो।

अहिले सो उद्योग संचालन मोडेलको विषयमा कुनै औपचारिक छलफल अघि बढ्न सकेको छैन । उद्योग सञ्चालनका लागि आवश्यक जनशक्ति, लागत रकम, संचालनको मोडल, कच्चा पदार्थ लगायतका विषयम मन्त्रालय र बोर्ड अन्योलमा देखिएका हुन् ।

करिव २ महिना अघि दूग्ध विकास संस्थान (डिडिसी)ले उक्त उद्योगको परीक्षण उत्पादन गरेको थियो । बोर्डकी निमित्त निर्देशक सजिता ज्ञवालीका अनुसार गत मंसिर १४ गते डिडिसिले उद्योगको सफल परीक्षण  गरेको थियो । तर, उद्योग सञ्चालनको विषयमा खासै छलफल नभएको उनले बताइन् । हाल उद्योग निर्माणको जिम्मा लिएको कम्पनीलाई अन्तिम भुक्तानी दिने काम भइरहेको उनको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले पनि उद्योग संचालनको विषयमा औपचारिक छलफल हुन नसकेको बताए ।  सहकारी संस्था, नीजि क्षेत्र र सरकारको प्रत्यक्ष संलग्नता तथा साझेदारीमा उद्योग संचालन गर्न मोडल तयार पार्ने विषयमा बोर्डमा आन्तरिक छलफल भइरहेको उनको भनाइ छ ।

मोडल तयार नभएपनि उत्पादनको गुणस्तर र मेसिनहरुको प्रभावकारिताका लागि डिडिसीले नै हालका लागि काम गरिरहेको छ । विगत २ महिनादेखि आधिकारिक सम्झौताबिनै आन्तरिक रुपमा डिडिसीले उक्त उद्योग संचालन गरिरहेको छ । डिडिसीलाई उद्योग संचालन गर्न दिने विषयमा मन्त्रालय र बोर्डले कुनै औपचारिक निर्णय नगर्दै काम भइरहेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्र कोइरालाले हाल डिडिसीले उद्योग संचालन गरेर त्यसमा भएका कमिकमजोरी पत्ता लगाउने काम मात्र गरिरहेको बताए ।  डिडिसीले उद्योगमा भएको विद्युत प्रवाह तथा दूध जम्ने समस्या पहिल्याउन सहयोग गरेको उनले बताए । हाल डिडिसीले ४० हजार लिटर दूध प्रशोधन गरी पाउडर दूध उत्पादन गरिरहेको सचिव कोइरालाले बताए ।

उता डिडिसी हेटौंडाका प्रमुख राजिव खनालले प्रदेश सरकारले सो उद्योगको परीक्षण उत्पादन गर्न पत्र पठाए अनुसार काम गरेको बताए । परीक्षण पश्चात हाल उद्योगले २०-२५ हजार लिटर दूध प्रशोधन गरिरहेको प्रमुख खनालले बताए ।

प्रदेश सरकारले ३ वर्ष लगाएर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनी स्थित सिसौघारीमा धुलो दूध तथा बटर उद्योग निर्माण गरेको हो । दुग्ध उत्पादक कृषकहरुले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि प्रदेश सरकारले हेटौंडामा पाउडर प्लान्ट निर्माण कार्य सुरु गरेको थियो । उद्योग पूर्णरपमा सञ्चालनमा आएपछि कृषकहरुबाट दूध संकलन गरी प्रशोधन गरेर पाउडर दूधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरिने छ ।

एक वर्षमा निर्माण कार्य सक्ने गरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बोर्डबाट खर्च गर्ने गरी निर्माणको काम सुरु थियो । तर, निर्माण कम्पनीको ढिला सुस्ती र कोरोना महामारीका कारण उद्योगको भौतिक संरचना निर्माणको काम निर्धारित समयभन्दा २ वर्ष बढीसमय लागेको थियो । उद्योग स्थापनाको लागि प्रदेश सरकारले ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ढिला सुस्ती र केही नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले उद्योगको लागत बढेर ४७ करोड पुगेको थियो ।

कृषकले उत्पादन गरेको दूधबाट दैनिक ५ मेट्रिकटन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य मन्त्रालयको रहेको छ । मन्त्रालयका अनुसार उद्योग सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने छन् । रातोपाटीबाट ।