हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २, मानसचोकमा सञ्चालित साहारा किस्ताबन्दी कार्यक्रमका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताहरुले कार्यालय घेरेका छन । आइवार सयौंको संख्यामा बचतकर्ताहरुले साहाराको कार्यालय घेरेका हुन् ।

सञ्चालकद्वय फरार रहेको जानकारी पाएपछि बचतकर्ताहरुले आफ्नो बचत फिर्ता माग्न आएको र बचत रकमपनि सञ्चालकहरुले नै लिएर गएको कर्मचारीको भनाई छ । रकम डुब्ने चिन्ताले बचतकर्ताहरु ठुलो संख्यामा कार्यालय घेराउन गर्न पुगेका छन् ।

२०५८ सालदेखि सञ्चालनमा रहेको संस्थाका सञ्चालक सरोज थापा र बिनिता पौडेल एक सातादेखि सम्पर्क विहीन भएपछि सो कार्यालयमा कार्यरत कर्मचारीले पनि खोजतलासगरी पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका छन । साहाराका सञ्चालक थापा र उहाँकी श्रीमति पौडेल संस्थामा कार्यरत कर्मचारीलाई कुनैपनि जानकारी नदिई फागुन २४ गतेदेखि सम्पर्क विहीन रहेको कर्मचारी (निवेदक) सिता पौडेलले जानकारी दिइन् ।

बचत संकलक कर्मचारीहरु सिता पौडेल, अनिता महत, गंगा अधिकारी, अनिता तामाङ श्रेष्ठ र केवल थापाले प्रशासनमा खोजतलासगरी पाउँ भन्दै निवेदन दिएका हुन् । साहाराका हाल करिव ६ सयबढीको बचत रहेको कर्मचारी पौडेलको भनाइ छ । चारजना बचत संकलकसहित संस्थामा पाँच जना कर्मचारी कार्यरत छन् ।