हेटौंडा । हेटौंडा–९, लामसुरेमा रहेको हेटौंडा सिमेन्ट उद्योगका २७ जना पूर्वकर्मचारी आन्दोलनमा उत्रिएका छन् । अवकाश पाएको करिब २ वर्ष बितिसक्दा पनि उपदानबापतको रकम नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अवकाश पाएका कर्मचारीलाई तहअनुसार प्रतिव्यक्ति ४० लाखदेखि ८० लाख रुपैयाँसम्म भुक्तानी दिनुपर्नेछ । अवकाश पाएको ३५ दिनभित्र उपदान रकम भुक्तान गर्नुपर्ने व्यवस्था भएता पनि उद्योग प्रशासनले उपदान रकम दिन बेवास्ता गरेको भन्दै चैत १५ देखिपूर्वकर्मचारीहरुले उद्योग प्रशासनको गेटमा धर्ना दिईरहेका छन् ।

बिगत ५ वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगले अवकाश प्राप्त कर्मचारीको उपदान रकम मात्रै करिब १८ करोड रुपैयाँ भुक्तान गर्न बाँकी रहेको संघर्ष समितिका सहसंयोजक शिव अधिकारीले जानकारी दिए । पूर्वकर्मचारीले चैत १५ गतेदेखि २३ गतेसम्म बिहान १० बजेदेखि १२ बजसम्म प्रशासन भवन अगाडि दैनिक धर्ना दिने, २५ गतेदेखि ३० गतेसम्म धर्ना दैनिक १ घण्टा बढाउने निर्णय गरेका छन् । माग पूरा नभए धर्ना दिने समय बढाउँदै लैजाने र वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने पूर्वकर्मचारीले चेतावनी दिएका छन् ।

उपदान रकम नपाएपछि पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए । पुस २५ गते भएको वार्ताबाट पालैपालो गरी २०८० असार मसान्तसम्म सबै कर्मचारीलाई उपदान रकम दिइसक्नेगरी उद्योग प्रशासनले सहमति गरेको थियो । सहमतिबमोजिम उद्योग प्रशासनले हालसम्म एक जनालाई मात्र उपदानबापतको रकम दिएको र तोकिएको समयभित्र सबैजनाले उपदान नपाउने निश्चित भएपछि पुनः आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका सह–संयोजक अधिकारीले बताए ।

हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले भने पूर्वकर्मचारीको माग जायज भएको तर, उनीहरुलाई उपदान रकम उपलब्ध गराउन उद्योगसँग रकम नै नभएका कारण समस्या भएको बताए । सिमेन्ट उद्योग निरन्तर घाटामा रहेकाले उपदान रकम भुक्तानी दिन नसकिएको उनको भनाई छ । पाण्डेका अनुसार हेटौँडा सिमेन्ट उद्योगको वर्तमान दायित्व ६० करोडभन्दा बढी छ । उद्योगमा कोइला ल्याउने सप्लायर्सको करिब २५ करोड, उपदानवापतको करिब १८ करोड, बिजुलीवापतको करिब ६ करोड तिर्न बाँकी रहेको जनाइएको छ ।

कर्मचारीको सञ्चयकोष, बिमा, नागरिक लगानी कोषको रकम गत भदौयता जम्मा गर्न नसकिएको महाप्रबन्धक पाण्डेले बताए । करलगायतको दायित्व पनि भुक्तान गर्न सकेको छैन । सिमेन्ट उत्पादन र बिक्रीबाट प्राप्त रकमबाट कर्मचारीको तलव भुक्तानी गरिएको हेटौँडा सिमेन्ट उद्योग प्रशासनले जनाएको छ । गोरखापत्रबाट