हेटौँडा । सहकारीमार्फत उत्पादित वस्तुको प्रदर्शनी र बिक्री मेला मङ्गलबारबाट हेटौँडामा सुरु भएको छ । मेलाको बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरे ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा हेटौँडा–२ स्थित कार्यालयको नवनिर्मित भवनमा सुरु भएको मेला तीन दिनसम्म चल्ने सहकारी सङ्घका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । सहकारीले बचत र ऋण मात्र प्रवाह नगरी रोजगारी पनि सिर्जना गर्ने भएकाले यसको पुष्टि गर्न मेला आयोजना गरिएको उनले बताइन ।

मेलामा बचत तथा ऋण मात्र नभई कृषि सहकारीका साथै बहुउद्देश्यीय, कृषि सहकारीहरूले समेत उत्पादन गरेका हस्तकला, खाद्य, मसला लगायतका सामग्रीहरूको ४१ वटा स्टल राखिएको छ । प्रदर्शनीमा करिब १० हजार जनाले अवलोकन गर्ने र करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।