हेटाैँडा । मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गर्न सफल भएका छन् । भीमफेदी गाउँपालिका–५, सुपिङमा गरिएको किवी खेतीबाट किसानहरूले न्यूनतम १० किलोदेखि अधिकतम ३२ किलोसम्म किवी फलाउन सफल भएका हुन् ।

सुपिङका व्यावसायिक किवी किसान सुरज थिङका अनुसार पर्याप्त मलपानी र समयमै गोडमेल गरेमा एउटै बोटबाट पनि राम्रै आम्दानी लिन सकिन्छ । किमुशेरी ग्रुप प्रालिमार्फत सञ्चालित उक्त किवी फर्म तीन जना युवाको करिब दुई करोड रुपियाँको लगानीमा सञ्चालन गरिएको हो । करिब ७० रोपनी क्षेत्रफलमा गरिएको किवी खेतीबाट गत वर्ष साढे तीन टन उत्पादन भएको थियो ।

२०७८ सालदेखि थालिएको किवी खेती गत वर्षदेखि फल्न थालेको हो । “अहिले राम्रो उत्पादन दिन थालेको छ । यो बहुवर्षे बाली भएकाले ४०–५० वर्षसम्म फल दिन सक्छ,” किसान थिङले बताए । १५ वर्षका लागि जग्गा भाडामा लिएर गरिएको खेतीले अहिले बजारमा राम्रो स्थान बनाएको छ ।

उत्पादन गरिएको किवी काठमाडौं, पोखरा, चितवन, हेटौँडा लगायतका बजारमा बिक्री भइरहेको छ । हाल किवीको मूल्य प्रतिकिलो १५० देखि २०० रुपियाँसम्म रहेको छ । कात्तिकदेखि मङ्सिरसम्म किवी टिप्ने कार्य चलिरहेको छ ।

फर्ममा स्थानीय आधा दर्जनभन्दा बढी व्यक्तिहरूले रोजगारी पाएका छन् । बागमती प्रदेश सरकारको ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत सञ्चालित यस परियोजनामा प्रदेश तथा स्थानीय सरकारद्वारा युवाहरूलाई प्रोत्साहनस्वरूप सहयोग गरिएको जनाइएको छ । गाेरखापत्रबाट