हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाले खानेपानी तथा सरसफाइ सेवालाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरको २०औँ अधिवेशनमा पेस गरेको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ ।

यसका लागि नगरअन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डमार्फत खानेपानी र सरसफाइका गतिविधि सञ्चालन गर्ने नीति लिइएको हो । सभामा नगर प्रमुख विष्णुबहादुर विष्टले पेस गरेको उक्त नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

पारित नीतिअनुसार सुरक्षित खानेपानीको लागि बोर्डलाई नै अघि सारिएको छ । नगर क्षेत्रको खानेपानी सेवा सञ्चालन, योजनाहरूको कार्यान्वयन, खानेपानी समितिहरूको दर्ता, नवीकरण, अनुगमन तथा नियमन बोर्डमार्फत नै गर्ने थाहा नगरपालिकाले नीति लिएको छ । खानेपानी पूर्वाधारलाई सुरक्षित, भरपर्दो, दिगो र वातावरणमैत्री बनाई गुणस्तरीय खानेपानी सेवा विस्तारलाई क्रमशः स्तरवृद्धि गर्ने नीतिमा उल्लेख छ ।
नगरपालिकाले खानेपानी सेवालाई पालिकाको अभिभाराको रूपमा लिँदै मिटरसहितको ‘एक घर, एक धारा’ नीतिलाई निरन्तरता दिएको छ । खानेपानी आयोजनाहरूको संरक्षण, सञ्चालन, मर्मतसम्भार तथा महसुल संकलनमा एकरूपता ल्याउनका लागि उपभोक्ता समितिहरूलाई खानेपानी बोर्डमा आबद्ध गराउने कार्यलाई पनि थाहा नगरपालिकाले निरन्तरता दिने भएको छ ।

खानेपानी, सडक, ढल व्यवस्थापन लगायतका कार्य गर्दा एक अर्को कार्यलाई असर नपर्ने गरी गरिनेछ । यसरी कार्य गर्दा असर परेमा असर पुर्‍याउने पक्षबाट मर्मतसम्भारको व्यवस्था मिलाउने नगरको नीति छ । खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन गर्न तथा मुहान संरक्षणका लागि विकास साझेदारहरूको खोजी गर्ने नगरपालिकाले जनाएको छ ।

सबै खानेपानी तथा सरसफाइ योजनालाई डिजिटाइजेसन गर्नका लागि एनवास सफ्टवेयरमा अद्यावधिक गर्ने कार्यको सुरुआत गर्ने नगरको नीति छ । महसुल भुक्तानी लगायतका वित्तीय कारोबारलाई अनलाइन प्रणालीबाट हुने व्यवस्थालाई निरन्तरता दिने, खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डको व्यावसायिक योजना निर्माणका लागि पहल गर्ने नगरको नीति छ ।
सहलगानीका खानेपानी आयोजना कार्यान्वयनका लागि सहकार्य गर्ने, मर्मतसम्भार कोष स्थापना गर्ने, गुणस्तरीय खानेपानी सुनिश्चितताका लागि खानेपानी परीक्षण कार्यलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा सरकारी तथा गैरसरकारी साझेदारहरूसँगको सहकार्यमा आफ्नै खानेपानी परीक्षण प्रयोगशाला स्थापना गर्ने थाहा नगरपालिकाले नीति लिएको छ ।

थाहा नगरपालिका स्थित थाहा खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड संघीयता कार्यान्वयनपछिको स्थानीय तहअन्तर्गत जिल्लाकै पहिलो बोर्ड हो । खानेपानी तथा सरसफाइलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले सञ्चालन तथा व्यवस्थापनका लागि वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ । बोर्डले समुदाय तथा पालिकासँगको सहकार्यमा खानेपानी सेवाको व्यवस्थापकीय कार्य गर्दै आएको छ । नगरपालिकाले उक्त बोर्डलाई आगामी आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन समेत गरेको छ ।
मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कार्यक्रम तथा विकासका लागि ९० करोड ९७ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ४३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ३ लाख रुपैयाँ, सशर्त अनुदान ३१ करोड २८ लाख रुपैयाँ, राजस्व बाँडफाँट ११ करोड १० लाख ९१ हजार रुपैयाँ र दहत्तर–बहत्तरबाट १ करोड ५० लाख रुपैयाँसहित कुल ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

त्यसै गरी प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १ करोड १२ लाख १७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ४० लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ, सशर्त अनुदान २ करोड ६६ लाख २२ हजार रुपैयाँ र राजस्व बाँडफाँट ५ करोड ७४ लाख १३ हजार रुपैयाँ गरी जम्मा १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम नगरपालिकाको आन्तरिक राजस्व तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने मेयर विष्णुबहादुर विष्टले बताए ।

आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, युवा तथा खेलकुद विकास, महिला तथा सामाजिक समावेशीकरण, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ ।