काठमाडौँ । गतसाता ४ दिन लगातार घटेको शेयर बजार यो साताको पहिलो दिन आज दोहोरो अंकले बढेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.२७ अंकले बढेको हो । ०.४९ प्रतिशतल बजार बढ्दा नेप्से परिसूचक २१२३.८२ अंकमा उक्लिएको छ ।

आज २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन आज जीवन बीमा समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । जीवन बीमा समूह भने ४.५५ अंकले घटेको हो ।

बजार बढ्दा ३ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । मनकामना स्मार्ट लघुवित्त, तेह्रथुम पावर र उपकार लघुवित्तको शेयर मूल्य क्रमशः १०, ९.६५ र ९.१३ प्रतिशतले बढेको हो । त्यसैगरी नयाँ सारथी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ३.४८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १३ करोड ८९ लाख ८२ हजार १ सय ६३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।