हेटौंडा। कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले पुनस् उत्पादन सुरु गरेको छ । कोइलाको अभावमा बन्द रहेको सरकारी स्वामित्वको उद्योगले मंगलबारबाट उत्पादन सुरु गरेको हो ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार बोलपत्र आह्वान गरी उद्योगका लागि आवश्यक कोइला भारत, भुटान, इन्डोनेसियालगायतका देशबाट आपूर्ति गरी उत्पादन सुरु गरिएको हो । उद्योगमा दैनिक ११० टन कोइला खपत हुने गरेको छ । ‘हाल उद्योगमा १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको छ ।

आर्थिक अभावका कारण सिमेन्ट उद्योगमा केही महिनादेखि समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भइरहेको थियो,’ उनले हाल वैकल्पिक उपाय अवलम्बन गरी कोइला आपूर्ति गरी उत्पादन सुरु गरिएको जानकारी दिए ।

उत्पादन बन्द भएकै कारण उद्योगले करोडौं क्षति व्यहोर्नुपरेको छ । ‘उपकरणहरूको मर्मत गर्नुपर्ने भन्दै साउन दोस्रो साताबाट उद्योग दुई साताका लागि बन्द गरिएको थियो । तर, कोइला आपूर्तिसमेत नभएपछि सिमेन्ट उत्पादन कार्य बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो,’ उनले भने ।

उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा गुणस्तरीय सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगमा पर्याप्त चुनढुंगाको भण्डारण रहेको छ । इकान्तिपुरबाट ।