हेटौंडा । वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजाललाई डा. गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० प्रदान गरिएको छ ।

सिस्नुपानी नेपाल मकवानपुरले स्वर्गीय पौडेलको वार्षिक पुण्यतिथिका दिन शनिबार हेटौंडामा एक कार्यक्रमकाबीच रिजाललाई नगद २५ हजार राशीसहितको सम्मान प्रदान गरेको हो ।

हास्यव्यङ्ग्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै रिजाललाई पौडेल स्मृति सम्मान प्रदान गरिएको हो । स्वर्गीय पौडेल सिस्नुपानी नेपालको पूर्वअध्यक्षसमेत हुन् । उनको निधनपछि परिवारले स्थापना गरेको हास्यव्यङ्ग्य सम्मानको पहिलो सम्मान रिजाललाई प्रदान गरिएको हो । रिजाल मकवानपुरमा रहेर लामो समयदेखि हास्यव्यङ्ग्य विधामा कलम चलाइरहेका छन् । उनको ‘को वरिष्ठ’, ‘हाकिमको खप्पर’, ‘कण्ठलङ्गौटी’ जस्ता हास्यव्यङ्ग्य पुस्तक प्रकाशनमा छन् ।

कार्यक्रममा बरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइटेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, स्वर्गीय पौडेलका छोरा गौरव पौडेललगायतले रिजाललाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सम्मान ग्रहण गरेसँगै रिजालले आफूले पाएको २५ हजार रुपैयाँमा थप २५ हजार रुपैयाँ थपेर ५० हजार राशीको अक्षयकोष स्थापना गर्न सिस्नुपानी नेपाल मकवानपुरलाई नै रकम हस्तान्तरण गरे । उनले नवपुस्ताका हास्यव्यङ्ग्यकारलाई पुरस्कृत तथा सम्मान गर्नका लागि अक्षयकोष स्थापना गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा–४ नम्बर वडाध्यक्ष नविन सिग्देल विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

कार्यक्रमकाबीच हास्यव्यङ्ग्यकार डा. पौडेलको स्मृतिग्रन्थसमेत सार्वजनिक गरिएको थियो । स्वर्गीय पौडेलको स्मृति दिवसका दिन आयोजित सम्मान, स्मृति ग्रन्थ सार्वजनिकक साथै रचनासमेत बाचन गरिएको थियो । कार्यक्रममा पुरुषोत्तम आचार्य, सानु खनाल, सुवास सजल, माधव भण्डारी, ओमभक्त भण्डारी, प्रसन्न अर्याल, स्वस्तिका दाहाललगायतले रचना बाचन गरेका थिए ।