हेटौंडा । नवसर्जक केन्द्रित अभियान सञ्चालन गरिरहेको गजल मञ्च मकवानपुरले हेटौंडा–९ मा रहेको श्री कृष्ण आदर्श इङ्लिस स्कुलमा २०३ औँ गजल यात्राको शृङ्खलाको साथै गजल प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली गजलको उन्नयन र प्रवद्र्धनमा केन्द्रित गजल मञ्च मकवानपुरले श्रीकृष्ण आदर्श इङ्लिस स्कुलमा शनिबार गजल यात्राको नियमित शृङ्खलाका साथ नवसर्जकमाझ गजल प्रशिक्षण सञ्चालन गरेको हो । मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजलकार सुनिल गौतमले नवसर्जक विद्यार्थीहरुलाई गजल प्रशिक्षण दिएका थिए । गजलको तत्वहरु, गजल लेखनका प्राविधिक पक्षहरुलगायतका विषयमा गौतमले विद्यार्थीहरुमाझ ज्ञान आदानप्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका कक्षा ६ देखि ९ कक्षासम्म अध्ययनरत करिब ४० जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा गजलकार पुरुषोत्तम आचार्य, डिबी वर्तौला, हरिप्रसाद पौड्याल, डिबी वर्तौला, छवि अनित्यलगायतले गजल बाचनका साथ गजल र पठन संस्कृतिका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल दूर्गाप्रसाद भट्टराईलगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष समर्पणले गजल लेखनमा नयाँ पुस्ता तयार गर्न मञ्चले विविध कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तरता दिइने जानकारी दिए ।