हेटौंडा । मकवानपुरका माध्यमिक तहस्तरीय गजल प्रतियोगितामार्फत सर्वोत्कृष्ट हुन सफल बकैया–३ हात्तिसुँडेमा रहेको बुद्ध माविकी कक्षा ९ कि छात्रा मनिका नेगीले मनमाया स्मृति गजल पुरस्कार प्राप्त गरेकी छन् ।

प्रतियोगितामा सहभागी १७ जना विद्यार्थीमध्ये नेगी सर्वोत्कृष्ट घोषित भई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत भएकी हुन् । गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको पुरस्कार हरेक वर्ष माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुबीच गजल प्रतियोगिता गरी सर्वोत्कृष्टलाई प्रदान गर्ने गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट ८ विद्यार्थीलाई कार्यक्रममा गजल वाचनको लागि निम्त्याइएको थियो । साहित्यकार विश्वनाथ सञ्जेल र भवानी तिमल्सिनाले गजल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । नियमित गजल यात्राअन्तर्गत गजलकारहरु मसान उपासक, पुरुषोत्तम आचार्य, सुवास सजल, किशन पौडेललगायतले गजल वाचन गरेका थिए । मञ्चका अध्यक्ष समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार संस्थापकका तर्फबाट भोला शिवाकोटी, विशिष्ट अतिथि तुलसी घिमिरे, प्रमुख अतिथि सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मन्तव्य व्यक्त गरेका थिए ।