हेटौंडा । ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चर्चित फिल्म बनाएर चर्चामा आएका निर्देशक प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ हेटौंडाका दर्शकले मन पराएका छन ।

शुक्रवार हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा प्रर्दशन गरिएको फिल्म हेरिरहँदा दर्शक खुसी देखिएका छन् । पारिवारीक माहोलमा हेर्न मिल्ने चलचित्रको कथा, बस्तु र अन्य बिषयले दर्शकप्रति न्याय गरेको महसुस गर्न सकिन्छ । अघिल्ला फिल्मकै पात्र र अघिल्ला फिल्ममा पात्रहरूले भोगेको सास्ती र अपराधकै कथाको नयाँ भर्सन हो, ‘महाजात्रा’ । राजनीतिमा अपराध र तस्करी कसरी घुसिरहेको छ र त्यसको मूल्य सामान्य पात्रहरूले कसरी चुकाउन बाध्य भइरहेका छन् भन्ने बुझन् ‘महाजात्रा’ काफी छ ।

हलमा पुगेका दर्शकले चलचित्र हेरिरहदा एक मिनेट पनि दिक्क नमानेको प्रतिक्रिया दिएका छन । मध्यान्तर अगाडि र पछाडि दुबै समयमा दर्शक उत्तिकै खुसी, हर्षित र आनन्द लिएर चलचित्र हेरिरहेका थिए । चलचित्र हेर्न खर्च गरेको लगानी पनि असुल भएको प्रतिक्रिया दिएका दर्शकले चलचित्रको अवधिभर हासो थाम्न नसकेको प्रतिक्रिया दिए ।

अभिनेता हरिवंश आचार्यसँगै शृंखलाका तीन कलाकार विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको अभिनयले हलका दर्शकलाई खित्का छाडेर हास्न बाध्य बनायो । फणीन्द्र (विपिन), जोएश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका दर्शकको मन जित्ने खाल्को छ ।

नेताको भूमिका निर्वाह गरेका हरिवंशले कसरी नेताहरू स्वयं अपराध गर्न बाध्य छन् र त्यसबाट मुक्तिको बाटो उनीहरूले कसरी रोज्न सक्छन् भनेर देखाएका छन । अहिले चलिरहेको राजनीतिको जात्रा, यसमा मिसिएको अपराध र तस्करीको कथा नै फिल्ममा अनेकन् उपकथामार्फत आएजस्तो देखिन्छ । एकैछिनमा हाँस्ने र एकैछिनमा रुन बाध्य बनाउने खाल्को छ फिल्म ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको छ । फिल्ममा वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको पनि अभिनय छ ।