हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा भएको दुई दिने बृहत साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको थियो । हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न पर्यटकिय स्थलमा समेत आयोजना गरिएको महोत्सवमा साहित्यका विभिन्न पाटामा गहन बहस भएका थिए ।

महोत्सवको पहिलो दिन उद्घाटनसहित “साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । बहसमा साहित्यकार भूपाल राई र समिक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए । उक्त बहसको सहजकर्ता पत्रकार तथा साहित्यकार ठाकुर बेलबासेले गरेका थिए । बहसमा साहित्य राजनीतिबाट टाढा हुन नसक्ने वक्ताहरुले बताएका थिए । महोत्सवको पहिलो दिनमै ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । महोत्सवमा साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । कार्यपत्र माथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए । सोही दिन गजल तथा मुक्तक वाचन कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए । यस्तै पहिलो दिनको साँझ साँगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम हेटौंडाको पिएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो प्रस्तुती दिएका थिए । महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्र्तक्रिया भएको थियो । उक्त कार्यक्रम आँचल र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो ।

यस्तै दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो । ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो । यसैगरी दोस्रो दिनको तेस्रो तथा महोत्सवको अन्तिम बहस कार्यक्रम हेटौंडामा भएको थियो । ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि भएको बहसमा साहित्यकार भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका थिए भने यसको सहजकर्ता साहित्यकार निमेष निखिलले गरेका थिए । बहसमा साहित्यको वर्तमान अवस्था र अबको साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । बहसकर्ताहरुले जस्तो लेखेपनि साहित्य मान्दा समग्र साहित्य क्षेत्र नै कमजोर बन्दै गएको टिप्पणी गरेका थिए ।

यसैगरी महोत्सवको अन्तिम कार्यक्रम कविता वाचनको रहेको थियो । उक्त कार्यक्रममा मकवानपुरकासहित ६० जना कविले कविता वाचन गरेका थिए । महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रर्दशनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएको थियो । आँचलकी अध्यक्ष अनिता न्यौपानले सबैको सहयोगमा बृहत साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको बताईन् । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका सामाजिक तथा साहित्यक संघसंस्थाको सहयोगले महोत्सवलाई सहज रुपमा आयोजना गर्न मद्दत पुगेको उनले बताईन् । महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्नेको अध्यक्ष न्यौपानले उल्लेख गरिन् । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको उनले बताइन् । साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको र त्यो उपलब्धि महोत्सवले दिएको अध्यक्ष न्यौपानेको दाबी छ । कार्यक्रमको उद्घाटन सत्र आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा वागमती प्रदेशका सांसद प्रेमबहादुर पुुलामी र हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, अग्रज साहित्यकार तुल्सी थापा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका साहित्यक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको समापन आँचलकी अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा गायिका सुशिल पाण्डे मान्नधरको प्रमुख आतिथ्यतामा भएको थियो ।