चितवन । चितवनको खैरहनी नगरपालिका १० कुसहनाका चौधरी महिलाहरु व्यावसायिक बाख्रापालनमा आकर्षित भएका छन् । निर्वाहमुखी पशुपालन र खेतीपातीबाट जीवन निर्वाह गरिरहेका चौधरी परिवार करिब १ वर्षअघिदेखि व्यावसायिक बाख्रापालनमा तल्लीन बनेका हुन् ।

व्यवस्थित खोर निर्माण र घाँस खेती गरी यहाँका १४ परिवार दैनिक बाख्राकै हेरचाह र स्याहारमा व्यस्त बन्दै आएको छ । ग्रामीण महिला कृषक समूह स्थापना गरी चौधरी तथा गुरुङ महिलाहरुले बाख्रापालनलाई दैनिकी बनाएका हुन् । अहिले उनीहरु प्रत्यकको खोरमा ३० देखि ५० वटासम्म बाख्रा रहेका छन् । ‘हामीले सुरुमा सबै खोरमा गरेर चार सयभन्दा बढी बाख्रा हालेका थियौं । अहिले धेरै पाठापाठी जन्मेर हुँर्कँदै छन् । दुःख गरियो भने हुने रहेछ भन्ने लागेको छ ।’ कृषक समूहकी अध्यक्ष रेनुका चौधरीले भनिन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाले अनुदान सहयोग प्रदान गरेपछि महिलाहरुले व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । निर्वाहमुखी खेती र पशुपालन गरिरहेका चौधरी महिलाहरुलाई व्यावसायिक बाख्रापालनमा प्रेरित गरी मासु उत्पादनलाई बढवा दिने उद्देश्यले आयोजनाले कृषक समूहलाई कुल लगानीको ५० प्रतिशत अनुदान प्रदान गरेको हो ।

कृषक समूहले बाख्राको खोर निर्माण, चाफकटर खरिद, बाख्रा तथा बोयर बोका खरिद गरी कुल एक करोड ९७ लाख रुपैयाँ लगानी गरेकोमा विकेन्द्रिकृत आयोजना सहयोग ईकाई हेटौंडाले ९८ लाख ९६ हजार रुपैयाँ अनुदान प्रदान गरेको ईकाई प्रमुख विदुर गौतमले बताए । बाख्रापालनका लागि लाभग्राही आफैंले ३८ लाख ९६ हजार लगानी गरेकोमा उनीहरुले बैंक तथा बित्तीय संस्थाबाट ६० लाख रुपैयाँ ऋण लिएका छन् । समूहका प्रत्येक सदस्यले बाख्राको आहार व्यवस्थापनको लागि प्रति परिवार ५ देखि १५ कट्ठासम्मको खेतमा घाँस खेती गरेका छन् । घाँस काटेर खुवाउनको लागि प्रत्येकले चाफकटरसमेत खरिद गरेका छन् ।

एक वर्षअघि ३४ वटा माउ बाख्रा हालेकी ल्वाङी चौधरीको खोरमा अहिले १३ वटा पाठापाठी थपिएका छन् । ती बाख्रा हुँर्कँदै जाँदा राम्रै कमाई हुनेमा उनीहरुको परिवार आशावादी बनेका छन् । र त परिवारका सबै सदस्यहरु बिहानदेखि बेलुकासम्म बाख्राकै हेरचाहमा व्यस्त बन्ने गरेका छन् । ‘यी सबै राम्ररी हुर्कियो भने त राम्रै कमाई हुन्छ जस्तो छ । यता त गाउँभर बाख्रापालन गर्छन् रे भनेको थाहा पाएर खसीबोका किन्ने मान्छेहरु पनि खोज्दै आउन थालिसकेका छन् । अहिले बेचिहाल्ने बेला चाहिँ भएको छैन ।’ चौधरीले प्रसन्न मुद्रामा भनिन् ।

अन्य कामका लागि घरबाहिर जान नसक्नेले पनि घरमै बसेर बाख्राको स्याहार गर्न सक्ने भएकाले परिवारका सबैले काम पाएको समूहकी अध्यक्ष रेनुका चौधरीको भनाइ छ । ‘उमेर पनि ढल्किँदै छ, बाहिर अरु काम गर्न जान पनि नसक्ने हुन थालियो । अब घरमै बसेर बाख्राको हेरचाह गर्ने गर्दा पनि राम्रै कमाई हुन्छ जस्तो छ ।’ रेनुकाले भनिन् । रेनुकाको खोरमा सुरुमा १४ वटा माउ बाख्रा हालेकोमा अहिले सानाठूला गरी ८ वटा पाठापाठी थपिएका छन् । ३ वटा पाठापाठी मरेको पनि उनले सुनाइन् ।

समूहकी सदस्य लक्ष्मी चौधरीले पनि एक वर्षअघि २९ वटा बाख्रा हालेकोमा सोबाट ९ वटा पाठापाठी जन्मेको थियो । जाडोमा स्याहार नपुग्दा ३ वटा मरेको उनले सुनाइन् । ‘यति ठूलो खोर बनेको छ, अझै खोर भरिएको छैन । खोरभरी बाख्रा हालियो भने त राम्रै कमाई होला जस्तो छ । अब विस्तारै बाख्रा बढाउँदै लैजाने सोच बनाएको छु ।’ लक्ष्मीले भनिन् । लक्ष्मीको पति अन्य पेशामा घरबाहिर छन् भने उनी र उनका ३ जना छोराछोरीले बाख्राको हेरचाह र स्याहार सुसार गर्छन् । लक्ष्मी भन्छिन्– ‘पहिला थोरै बाख्रा पनि पालिन्थ्यो, खेतीपाती पनि गरिन्थ्यो । अहिले खेती गर्ने खेतमा घाँस रोपेका छौं । अहिले थोरै खेती गर्छौँ भने धेरै ध्यान चाहिँ बाख्रातिरै दिन थालेका छौं ।’

विकेन्द्रिकृत आयोजना सहयोग ईकाई हेटौंडाले ५० प्रतिशत अनुदान दिएपछि चौधरी महिलाहरु व्यावसायिक बाख्रापालनमा उत्साहित भएर लागेको ईकाई प्रमुख विदुर गौतमको भनाइ छ । मासु र दूध उत्पादन वृद्धि गर्नुका साथै मूल्य शृङ्खलामा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ अघि बढेको आयोजनालाई उद्देश्य प्राप्तीमा कुसहनाका महिलाहरुको सहयोग हुनेमा गौतमको विश्वास छ । ‘पहिला निर्वाहमुखी पशुपालन र खेती गरिरहेका महिलाहरु अहिले व्यावसायिक बाख्रापालक बनेका छन् । उनीहरुको अहिलेसम्मको स्थिति हेर्दा सन्तोषजनक छ ।’ ईकाई प्रमुख गौतमले भने त्यति ठूलो लगानीमा व्यवस्थित खोर निर्माण र मेसिनरी सामानसमेत खरिद गरिसकेको छ । अब उनीहरु पछाडि फर्कने अवस्था देखिँदैन ।’

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ । दूध, खसीबोकाको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, दूध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने, पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउनेलगायतका उद्देश्यले आयोजनाले व्यावसायीकरण र यान्त्रीकरणमा अनुदान दिने गरेको छ ।

२०८० असार मसान्तसम्मको समयसिमा निर्धारण गरेको आयोजना सम्पन्न भइसक्दासम्म गाई र भैसीको दूधमा ४०% बृद्धि हुने, खसी–बोकाको मासु उत्पादनमा २०% बृद्धि हुने, उत्पादित दूध, मासु र पश्मिनाको बिक्री ३०% ले बढ्ने अपेक्षा राखेको छ । आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् । जसमध्ये हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ईकाई प्रमुख गौतमले बताए ।

पत्रकार केशव समर्पणले तयार पारेको समाचार सामाग्री ।