चितवन । चितवनको रत्ननगर नगरपालिका–१२, सुर्योदय टोलका दिनेश खतिवडाले व्यवसायिक पशुपालन गरेर मनग्य आम्दानी गरेका छन । निर्वाहमुखी पशुपालन त्यागेर व्यवसायिक पशुपालनबाट खतिवडाले मनग्य आम्दानी गरेका हुन् ।

उनले न्यू रत्ननगर एग्रीकल्चर पशु फार्म मार्फत व्यवसायिक रुपमै पशुपालन गरेका हुन । विगत ८ बर्षदेखि पशुपालन व्यवसायमा सक्रिय रहेका खतिवडाले साना ठुला गरेर एकसय ३५ वटा गाई र भैंसी पालन गरेका छन । उनको फार्ममा माउ भैंसी ५२ वटा र १८ वटा गाई रहेका छन । उनले २ वटा निलिराबी जातका भैंसीबाट पशुपालन सुरुवात गरेका थिए । लिजमा १२ विगाह जमिन लिएका उनले पशु आहारका लागि मकै तथा घाँस खेती गरेका छन । उनले १० कठ्ठा क्षेत्रफलमा पशुपालनका लागि संरचना निर्माण गरेका छन ।

उनले केही बर्षअघि हेटौंडा–४ स्थित स्कुल रोडमा डेरी पसल समेत संचालन गरेको स्मरण गरे । हेटौंडा दुग्ध विकास संस्थानबाट लगातार तीनपटक नारायणी अञ्चलकै उत्कृष्ट दुग्ध व्यापारीका रुपमा सम्मानित भएको उनले बताए । दुध व्यापारीको रुपमा सम्मानित भईरहँदा पाएको हौसलाले पशुपालन व्यवसायमा जोडिएको उनको भनाई छ । मानव जीवनमा दुधको महत्व बुझेपछि दुध उत्पादन सुरु गर्नुपर्छ भनेर आफैंले व्यवसाय सुरु गरेको उनको भनाई छ ।

नेपालमा व्रिड विकासका क्रममा हाडनाता धेरै भएकाले दुध उत्पादनमा ह्रास आउने गरेकाले यसप्रति सबै किसान सचेत रहनुपर्ने उनको सुझाव छ । उनले रामपुर क्याम्पस संग समन्वय गरेर विउको रागाँ राखेको बताए । पशुपालनका लागि व्रिड पहिचान, आहार व्यवस्थापन र लगानी व्यवस्थापन मुख्य चुनौती रहेको उनको भनाई छ । उनले अहिले पशुपालक किसानले आवश्यकता पहिचान गर्न नसक्दा भौतिक संरचना मै धेरै लगानी गर्ने गरेको बताए । नेपालमा कृषिलाई हेर्ने दृष्टि अझैं कमजोर छ उनले थपे–पशुपालन गर्नुपूर्व पशुका लागि उचित आहारको व्यवस्था गर्नुपर्छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत नेपाल लाइभस्टक इनोभेसन आयोजना (एनएलएसआइपी) विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडाले स्वच्छ दुध उत्पादनको लागि उन्नत भैंसी पालन गर्न न्यू रत्ननगर एग्रीकल्चर पशु फार्मलाई अनुदान उपलब्ध गराएको थियो । २० लाख रुपियाँबाट सुरु गरिएको फार्ममा अहिले करिव तीन करोड लगानी रहेको संचालक खतिवडाले बताए । विकेन्द्रिकृत आयोजना सहयोग ईकाई हेटौंडाले ५० प्रतिशत अनुदान अर्थात ५० लाख रुपियाँ उपलब्ध गराएको उनले बताए । खतिवडाले संचालन गरेको फार्ममा ६ जनाले नियमित काम गरिरहेका छन भने प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिव ३ सयजनालाई आर्यआजनको पाटोमा जोडेको बताए । उनले साइलेज उत्पादन गरेर पशुलाई खुवाईरहेको बताउँदै त्यसका लागि मकै र घाँस उत्पादन गर्न समेत दैनिक ज्यालादारीमा रोजगारी दिएको बताए । विकेन्द्रिकृत आयोजना लागू भएपछि यान्त्रिकरण गर्न, दुध उत्पादन बृद्धि गर्न १५/१५ वटा गाई र भैंसी थपिएको बताए । अहिले दैनिक ४ सय ५० लिटर दुध उत्पादन भईरहेको छ ।

एनएलएसआइपीबाट अनुदान पाएपछि १५ लाख ५० हजारको ट्रयाक्टर, १८ लाख रुपियाँको हार्वेष्टर लगायतको मसिन खरिद गरिएको उनले बताए । आयोजना सुरु भएपछि सक्षम किसान बनाउनका निमित्त प्राप्त भएको अनुदानले धेरै राहत भएको उनको भनाई छ । उनले आयोजनाका कारण काम गर्ने हौसला र जोशजाँगर बढेको बताए ।

उत्पादन भएको दुध फार्मबाटै विक्री हुने गरेको छ, बजारीकरणको कुनै समस्या छैन, उनले भने । भैंसीको दुधको माग धेरै छ, उत्पादन भने कम हुन्छ । यान्त्रिकरणमा गएपछि १० जना मानिसले गर्ने काम एउटै मेसिनले गर्ने गरेको अनुभव सुनाउँदै उनले उत्पादन लागत घटेर राहत भएको बताए । यान्त्रिकरण भएसंगै औद्योगिकरण हुने उनको विश्वास छ । आयोजना लागु भएपछि सबै खर्च कटाएर मासिक ३ लाख नाफा भईरहेको बताए ।

विकेन्द्रिकृत आयोजना सहयोग ईकाई हेटौंडाले ५० प्रतिशत अनुदान दिएपछि फार्मका संचालक खतिवडा उत्साहित भएर लागेको ईकाई प्रमुख विदुर गौतमले बताए । उनले स्वच्छ दुध उत्पादनको लागि उन्नत भैंसी पालन गर्न पशु फार्मलाई अनुदान दिइएको बताए । यान्त्रिकरण मार्फत दुध उत्पादन वृद्धि हुनेमा गौतमको विश्वास छ । दुध उत्पादन, पाडापाडी उत्पादन, नमुना फार्म निर्माण, यान्त्रिकरण मार्फत दुधको उत्पादन मुल्य घट्ने उनले बताए । नमुना फार्मको रुपमा विकसित गर्दै फार्मको बारेमा जानकारी लिने स्थानको रुपमा विकसित भएको उनले बताए । यान्त्रिकरण र व्यवस्थित संरचना सहित पशुपालनका लागि घाँस सहितको गरिएको व्यवस्थापन यहाँको नमुना हो । पशुपालन गर्नेका लागि यो ठाउँ अध्ययन र बुझ्ने ठाउँ भएको उनले बताए ।

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ । दूध, खसीबोकाको मासु र पश्मिनाको उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, दूध, खसीबोकाको मासु र पश्मिनाजन्य पदार्थको मूल्य अभिवृद्धि गराउने, पशुपालन क्षेत्रमा थप लगानी आकर्षित गराउनेलगायतका उद्देश्यले आयोजनाले व्यावसायीकरण र यान्त्रीकरणमा अनुदान दिने गरेको छ ।

२०८० असार मसान्तसम्मको समयसिमा निर्धारण गरेको आयोजना सम्पन्न भइसक्दासम्म गाई र भैसीको दूधमा ४०% बृद्धि हुने, खसी–बोकाको मासु उत्पादनमा २०% बृद्धि हुने, उत्पादित दूध, मासु र पश्मिनाको बिक्री ३०% ले बढ्ने अपेक्षा राखेको छ । आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् । जसमध्ये हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ईकाई प्रमुख गौतमले बताए ।

अनिल पराजुली
थप जानकारी