हेटौंडा । नेपाल सरकारले वीमाको रकम वीमा कम्पनीलाई भुक्तानी नगर्दा किसान मर्कामा परेका छन । वीमा कम्पनीले पशुपंछी तथा कृषि वालीको वीमा नगर्ने र वीमाको दाबि भुक्तानी नदिदा किसानहरु मर्कामा परेका हुन ।

यसअघि नेपाल सरकारले पशुपंछी तथा कृषिवाली वीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा ८० प्रतिशत अनुदान दिदै वीमा कम्पनीलाई सिधैं भुक्तानी दिने रकम रोकिदा समस्या परेको किसानहरुले गुनासो गरेका छन । सरकारबाट पाउनुपर्ने वीमाको प्रिमियम शुल्क नपाएको भन्दै वीमा कम्पनीहरुले पशुपंछी तथा कृषिवाली वीमाको वीमा गर्ने र वीमाको दाबी भुक्तानी दुबै बन्द गरेकोले पशुधन तथा कृषिवालीको वीमा नहुँदा किसान प्रत्यक्ष मारमा रहेका हुन ।

यसैबिच नेपाल सरकारले पशुपंछी तथा वाली वीमाको प्रिमियम शुल्क वीमा कम्पनीहरूलाई भुक्तानी नदिएको र वीमा कम्पनीहरूले वीमा गर्न र दाबी भुक्तानी दिन बन्द गरेको बिरुद्धमा हेटौंडामा बिरोध प्रदर्शन र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

हेटौंडाको पल्पसा हलबाट र्याली नगरपालिका रोड हुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । वीमाको दाबि भुक्तानी समयै दे, पशुपंछी तथा कृषि वीमा सुचारु गर, कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण सुनिश्चित गर, वीमा गदा उचित मुल्य कायम गर, सबै उमेर र अवस्थामा पशुपंछीको वीमा गर, खरिद मुल्यमा वीमा गर लगायतका प्ले कार्डसहित उनीहरु प्रर्दशनमा उत्रिएका थिए ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मालाई नेपाल व्यवसायिक बाख्रापालक महासंघका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद सुवेदी, बागमती प्रदेश अध्यक्ष टंक मोक्तान, मकवानपुर अध्यक्ष विवेक सुबेदी, हेटौंडा नगरअध्यक्ष उस्मान वाइबा, मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद दाहाल, गाईपालक किसान सुजन न्यौपाने लगायतको सहायक सिडिओलाई ३६ बुँदे ज्ञापनपत्र बुझाएका हुन । ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंमा ज्ञापनपत्र पठाईएको हो ।

नेपाल व्यवसायिक बाख्रापालक महासंघको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका किसानहरुको सहभागिता रहेको थियो । नेपाल सरकारले कृषि वीमा वापत वीमा कम्पनीहरुलाई ८० प्रतिशत अनुदान दिनेकार्यविधि अनुसार वीमा कम्पनीलाई रकम दिन बाँकी रहेकाले किसान समस्यामा परेको नेपाल व्यवसायिक बाख्रापालक महासंघ मकवानपुरका अध्यक्ष विवेक सुवेदीले जानकारी दिए । उनले वीमा भईसकेको र वीमा वापतको भुक्तानी रोकेकोले किसानलाई राहत हुनेगरि वीमा नीति बनाउन र भुक्तानी समयमै उपलब्ध गराउन माग गरे । उनले गाई, बाख्रा, बंगुर लगायत वीमामा आवद्ध भएका सबै किसान समस्यामा परेको बताए । राज्यले वीमा कम्पनीलाई भुक्तानी नदिदा कम्पनीले किसानलाई भुक्तानी नदिएको बताए ।

आगामी आर्थिक बर्ष २०८०/०८१ म देशभरका किसानहरुको पशुपंछी तथा कृषिवाली वीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा संघीय सरकारबाट शतप्रतिशत अनुदान दिने व्यवस्था मिलाउन माग गरिएको छ । नेपालका ६० प्रतिशत जनसंख्या कृषि पेशामा आश्रित रहेका छन जसमध्ये ५१ प्रतिशत घरमा बाख्रापालन गरिएको तथ्य छ ।