रत्ननगर, चितवन । चितवनको रत्ननगर नगरपालिका–१६ पिठूवामा रहेको पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड यान्त्रीकरणमार्फत दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीमा अब्बल बन्दै गएको छ । एउटा मेसिन र तीन वटा फ्रिज बाट २०४९ साल चैत्र १३ गते स्थापना भएको सहकारीको अवस्था अहिले फेरिएकाे छ ।

दुग्ध उत्पादक सहकारीमा आधुनिक मेसिन र पक्की भवन बनेपछि सबैजसो दुग्धजन्य पदार्थ उत्पादन, प्याकेजिङ र वितरणसमेत गरिरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौंडाको ५० लाख रुपैयाँ अनुदान सहयोग पाएपछि दुग्ध सहकारीको अवस्थामा परिर्वतन आएको हो । आयोजनाले यहाँ संचालन गरेको एक करोडको कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदान अर्थात ५० लाख पाएपछि यो दुग्ध सहकारीले आवश्यक मेसिन खरिद तथा भवन निर्माण गर्न सकेको हो ।

आयोजनाले दुग्ध उत्पादक सहकारी संस्थालाई यान्त्रीकरणका लागि ५० प्रतिशत अनुदान दिने पत्रिकामा सूचना निकालेको थाहा पाएपछि सहकारीले निवेदन दिएको र मेसिनहरु पाएको पिठूवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका व्यवस्थापक गुणराज रेग्मीले बताए । आयोजना मार्फत अनुदानमा दुग्ध सहकारीले ५ हजार लिटरको दुग्ध स्टोरेज ट्याँकी, दूध चिस्याउन तीन हजार लिटरको ‘चिलिङ्ग भ्याट’, प्याकिङ मेसिन, ब्यास पास २ थान, होमो राइजन, कोल्ड स्टोर, क्लिनसेक्टर मेसिन, बटर चनर पाएको बताए । आयोजनाले ल्यावका साथैं १० लाखको भवन पनि निर्माण गरिदिएको छ ।

आयोजनाले दुध स्टोरका लागि विभिन्न सामाग्रीहरु प्रदान गरेपछि मिल्क होलिडे (दूध बिदा) को समस्या पनि हटेको व्यवस्थापकले बताए । ‘पहिले हामी संग मेसिन थिएन, मेसिन र उपकरण नहुँदा किसानले ल्याएको सबै दूध किन्न र डेरीमा राख्न सक्ने अवस्था थिएन’ उनले भने–‘आयोजनाले अनुदानमा मेसिन उपकरण दिएपछि अहिले ढुक्क भएको छ ।’ किसानले ल्याएका सबै दूध तीन दिनसम्म स्टोर गर्न सक्ने क्षमता छ, उनले थपे–‘किसानको मेहनत खेर जाँदैन ।’

बार्षिक १० करोडको कारोवार गर्ने दुग्ध सहकारी संस्थामा १७० जना शेयर सदस्य रहेका छन् भने करिव ५ सय किसानले उत्पादन गरेको दूध सहरकारीले संकलन गर्ने गरेको छ । सहकारीले शेयर सदस्य किसानलाई नाफाबाट वार्षिक बोनससमेत बाँड्ने गरेको छ । खैरेनी नगरपालिका वडा नं.१६ र रत्ननगर नगरपालिका ३, १४ र १५ का दुग्ध उत्पादक किसानले यहाँ दूध विक्री गर्ने गरेका हुन । यस क्षेत्रमा व्यवसायिक रुपमा गाई र भैंसी पाल्ने किसानको संख्या उल्लेख्य रहेको छ ।

दुग्ध सहकारीमा दैनिक करिब तीन हजार लिटर दूध जम्मा हुने गरेको छ । यान्त्रीकरण पश्चात यहाँको दूधबाट दही, दुध, खुवा, पनिर, नौनी घ्यू उत्पादन गर्ने गरिएको छ । यहाँको उत्पादन स्थानीय बजारमै खपत हुने गरेको छ । स्थानीय बजारमा दैनिक करिब ५ सय लिटर दही खपत हुने गरेको हो । यहाँको २५ सय लिटर दूघ पाथिभरा र हेटौंडा डेरीले समेत लाने गरेको दुग्ध सहकारीका व्यवस्थापन रेग्मीले जानकारी दिए ।

पशुपालक किसान ओझेलमा परिरहेको अवस्थामा कृषि तथा पशुपालन क्षेत्रलाई व्यवस्थित र वैज्ञानिक बनाउने प्रयास स्वरुप कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन अयोजनाले गरेको सहयोगले यहाँका सयौं किसान लाभान्वित भएको व्यवस्थापक रेग्मीको भनाई छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१, ठिमुरामा चितवन मिल्क लिमिटेडमा आयोजनाले सामुहिक शितभण्डार (कोल्ड स्टोर) स्थापना गरिदिएको छ । २ सय मेक्ट्रिक्टन भण्डार क्षमताको सामुहिक शित भण्डार निर्माण गरिएको हो । यहाँ अहिले देशैभरबाट आएका बटर स्टोर गरिएको छ ।

ईकाई प्रमुख विदुर गौतमले सहकारीले दुग्धजन्य पदार्थहरु आफैँ उत्पादन गरी बिक्री वितरण गर्दा किसानलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको उत्पादन विदेशमा निर्यात गर्ने उद्देश्यले पनि आयोजना संचालन गरिएको बताए । दूध र मासु उत्पादनमा आयोजनाले प्रसस्त योगदान गरेको भन्दै उनले किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थको उपभोग गरी किसानलाई प्रोत्साहन गर्न आग्रह समेत गरे ।

संघीय कृषि तथा पशुपंक्षी मन्त्रालय मातहत रहेको आयोजनाले २०७४/०७५ देखि दूध र मासु उत्पादनलाई केन्द्रित गरी काम गरिरहेको छ । विश्व बैंकको ऋण अनुदानमा सञ्चालित आयोजनाले आव २०७९/०८० सम्म नेपालका ५ वटा प्रदेशका २८ जिल्लाका २८९ गाउँ तथा नगरपालिकाहरुमा काम गरेको छ ।

आयोजनामातहत चार वटा विकेन्द्रिकृत आयोजना सहयोग इकाईहरु रहेका छन् । जसमध्ये हेटौंडामा रहेको विकृन्द्रिकृत सहयोग ईकाइले बागमतीका ४ र मधेश प्रदेशका ३ वटा गरी ७ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ईकाई प्रमुख गौतमले बताए । उनका अनुसार हाल ईकाई मातहत ६९ वटा समूह सहकारीतर्फका उपआयोजनाहरु सञ्चालनमा छन् भने निजीतर्फ ३९ वटामा अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

अनिल पराजुली
थप जानकारी