हेटौंडा । थाहा नगरपालिकाले व्यवसायिक रुपमा दुध बिक्री गर्ने कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण गरेको छ ।

थाहा नगरपालिकाले समूह, सहकारी, फर्म, डेरी मार्फत दुध बेच्ने कृषकहरुलाई बर्ष भरि बेचेको दुधको परिमाणका आधारमा अनुदान दिन थालेपछि गाई भैंसी पालन गरी दुध बेच्ने कृषकको संख्यामा समेत बृद्धि भएको थाहा नगरपालिका पशु विकास शाखाका प्राबिधिक रुपेश कुमार मिश्रले बताए । मिश्रले यसबर्ष दूध उत्पादनका आधारमा २ सय ९९ सय जना कृषकलाई ८ लाख ४ हजार ४२२ रुपैयाँ अनुदान उपलब्ध गराइएको हो । रकम थाहा नगरपालिकामा सञ्चालित एक सहकारी र डेरीहरुमार्फत बितरण गरिएको हो ।

नियमित रुपमा डेरी मार्फत दुध बिक्री गर्ने कृषकहरुले बिक्री गरेको दुधको परिमाणका आधारमा प्राप्त अनुदान रकम बितरण गरिएको नबदुर्गा ट्रेडर्स थाहा ३ द्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तोलाले बताए ।
बर्तौलाले कृषक डेरी मार्फत दुध बिक्री गर्ने ३३ जना कृषकहरुले ९१ हजार ६३ लिटर दुध बिक्रीको परिमाणका आधारमा १ लाख ५६ हजार ९ सय ७० रुपैंया बितरण गरिएको बताए ।

त्यस्तै नन्दकिश्वर डेरी प्रा.लि. थाहा ६ मार्फत ८५ जना कृषकहरुले १ लाख ३ हजार ४ सय ५८ लिटर दुध बिक्री गरेबापत बिक्री परिमाणका आधारमा १ लाख ७८ हजार ३ सय ३६ रुपैंया, देबदर्शन निष्ठा डेरी उद्योग थाहा ३ मार्फत १ सय ५३ जना कृषकहरुले २ लाख २६ हजार ४ सय ९२ लिटर दुध बिक्री गरे बापत ३ लाख ९० हजार ४ सय १७ रुपैंया र सुन्तलाबारी कृषि सहकारी संस्था लि. थाहा १२ मार्फत २८ जना कृषकहरुले २७ हजार ५९ लिटर दुध बिक्री गरेबापत ६६ हजार ६ सय ३३ रुपैंया बितरण गरिएको थाहा नगरपालिका पशु बिकास शाखाले जनाएको छ ।

पशु बिकास शाखाको अनुसार गाईको दुधमा प्रतिलिटर १ रुपैंया ७५ पैसाको दरले र भैसीको दुधमा प्रतिलिटर २ रुपैंया ५० पैसाको दरले प्रोत्साहन अनुदान बितरण गरिएको हो । बिहीबार र शुक्रबार नगरपालिकाको पशु विकास शाखा मार्फत चालु आर्थिक वर्ष २०७९÷०८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान वापतको रकम बितरण गरेको थियो ।

त्यस्तै उत्कृष्ट दुग्ध उत्पादन गर्ने तीन जना कृषकहरुलाई नगद सहित सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा थाहा २ का माधव कार्की, थाहा १२ का भिम बहादुर गोले र थाहा ६ की पार्वती ढुङ्गाना रहेका छन् ।

त्यस्तै ४ वटा पशुपालन फर्मलाई नगद सहित सम्मानित गरिएको पशु विकास शाखाका प्राबिधिक रुपेश कुमार मिश्रले जानकारी दिए । सम्मानित हुने फर्महरुमा लामिछाने गाई तथा कृषि फार्म, थाहा १, डाँडाघरे बा को कृषि तथा पशुपंछी फार्म, थाहा २, मंजिल कृषि तथा पशुपंछी फार्म, थाहा ३ र पि पि कृषि तथा पशुपालन फार्म, थाहा ६ रहेका छन् ।

पशुपालनलाई प्रोत्सहान गरी किसान मार्फत दूध संकलन गर्ने चार वटै डेरीलाई पनि प्रोत्साहन बापत नगद सहित सम्मान गरिएको पशु बिकास शाखाले जनाएको छ । थाहा नगरपालिकाले बिगत चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ ।

थाहा नगरपालिकाको प्रमुख विष्णु बहादुर बिष्टले प्रोत्सहान अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । थाहा नगरपालिकाको दुध र मासुमा आत्मनिर्भर बन्ने नीति अनुरुप गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने कार्यक्रम निरन्तर रहेको नगरप्रमुख बिष्टले बताए ।

कृषकहरुलाई उत्पादनमा आधारित रहेर प्रोत्साहन गर्दा कृषकहरुलाई व्यसायिक बन्न प्रेरणा मिलेको युवा कृषक माधव कार्की भनाई छ । कार्कीले अनुदानलाई निरन्तरता दिन र गाई भैसी खरिद गर्नकालागि समेत अनुदान उपलब्ध गराउन सके युवाहरुलाई पशुपालनमा आकर्षित गरी स्वरोजगार सृजना गर्न सकिने बताए ।

थाहा नगरपालिकाको विभिन्न वडाहरुमा समूह, सहकारी, फर्म, डेरी मार्फत दुध बिक्री गर्दा प्रोत्सहान बापत रकम आउन थालेपछि थाहा नगरका कृषकहरु ब्यवशायिक पशुपालन तर्फ आकर्षित हुन थालेका छन् ।

राज कुमार के.सी.
थप जानकारी