हेटौंडा । बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेपछि त्यसको विरोधमा चितवनका कृषकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना दिएका छन् ।

‘उनीहरुले किसान मार्न पाइँदैन’, ‘हाम्रो माग पूरा गर’, ‘कृषि मन्त्री राजीनामा दे’, ‘किसान ठग्न पाइँदैन’, ‘किसानमारा मन्त्री चाहिंदैन’, ‘दूध उत्पादन अनुदान कायम गर’ भन्दै नारा लगाएका थिए ।

चितवनको राप्ती, खैरहनी र माडी नगरपालिकाका किसानले अनुदान कटौतीको विरोधमा हेटौंडास्थित मन्त्रालयको मूल गेटमा धर्ना दिएका हुन् । कृषकले मन्त्रालय र पालिकाहरूबाट समेत दूधमा अनुदान बुझेको भन्दै मन्त्रालयले यस वर्षबाट दूधमा दोहोरो अनुदान रोक्ने निर्णय गरेको थियो ।

चितवनमा मात्रै ६० वटा संस्थामा आबद्ध किसान मर्कामा परेको भन्दै किसानले यसअघि पनि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा गुनासोपत्र पेस गरेका थिए भने मुख्यमन्त्रीसहितलाई ध्यानाकर्षण गराएका थिए ।