हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा पालिकाको संयुक्त पहलमा मनहरी–४ बनकरीया खेल मैदान नजिकै एक हजार ३६० थान नरिवलको विरुवा रोपेर नरिवल खेतीको सुरुवात गरिएको हो ।

नदी उकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसंग जोड्न नरिवलको खेती थालनी गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । “नरिवल खेतीलाई निरन्तरता दिने गरि पालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौं ।” उनले भने–गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रमको वन, वातावरण तथा विपत् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकास पर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गरेको उल्लेख छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदी उकास जमिनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिए । पालिकाको ४ नम्बर वडा कार्यालयको ३ लाख बजेटमा करिब दुई विगाह १० कठ्ठा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको ६ लाख ५० हजार रुपियाँमा तारजाली, घेराबारा र खेतीको संरक्षण गर्न दुईजना कर्मचारी नियुक्ती गरेर संरक्षणको जिम्मा दिएको छ ।

नरिवल खेतीले आर्थिक र वातावरणीय दुवै हिसाबले फाइदा हुन्छ, अध्यक्ष कालाखेतीले भने–“स्थानीयलाई रोजगारी र आम्दानीको श्रोत पनि बढ्छ ।” उनले पालिकामा आगामी दिनमा वडा नं ७ मा लिची र अम्बा र ८ मा एभोकाडोको वृक्षारोपण गर्ने तयारी गरिएको जानकारी दिए ।

नदी उकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र पालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको ४ नं. वडा अध्यक्ष प्रकाश थापाले बताए । उनले भने “अहिले परीक्षणका लागि लगाएका छौं, नरिवल खेतीको गोडमेल, संरक्षणलगायतका काम वडा कार्यालयबाटै हुन्छ ।” दुई बर्ष पुगेका विरुवा रोपिएको छ, तीन बर्ष भित्र नरिवल फल्ने अनुमान छ ।