हेटौंडा । मकवानपुर जिल्लामा लम्पी स्किन रोगको बिरुद्ध ६ हजार डोज खोप लगाईने भएको छ । दशवटै पालिकामा ६ सयका दरले खोप लगाउन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले लम्पी स्किन डिजिज्को जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम अभियानकै रुपमा संचालन गर्न लागेको हो ।

कृषि मन्त्रालयको कार्यक्रम अनुसार लम्पी स्किन सङ्क्रमण रोक्न सबै पालिकामा खोप कार्यक्रम संचालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए । पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि यही साउन २५ गतेदेखि ३१ गतेसम्म साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लाका स्थानीयतह संग विज्ञ केन्द्रमा भएको अन्तरक्रियाले फोकल पर्सन तोक्ने, भ्याक्सिनेटर नियुक्ती गर्ने र खोप वितरण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट सप्ताहव्यापी लम्पी रोग नियन्त्रण अभियानका लागि १० वटै पालिकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखलाई फोकल पर्सन तोक्ने निर्णय गरेको छ ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा दर्ता हुन आएका भ्याक्सिनेटर हरुलाई नियुक्ती दिने र दर्ता हुन नआएको पालिकाहरुमा गाउँपालिकाको पशु सेवा शाखाबाट गरिएको सिफारिसको आधारमा विज्ञ केन्द्रले नियुक्ती दिने निर्णय भएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट गंगा चौलागाई, डा.अनुसा लम्साल, डा.कमल अधिकारी, मकवानपुरगढी गाउँपालिकाबाट सत्यनारायण साह, बागमती गाउँपालिकाबाट राजेन्द्र गोले, कैलाश गाउँपालिकाबाट सन्तोषकुमार थिङ, इन्द्रसरोवर गाउँपालिकाबाट नविन अधिकारी, बकैया गाउँपालिकाबाट सागर श्रेष्ठ, मनहरीबाट सरोज ओझा लगायतकाले अन्तरक्रियामा सहभागिता जनाएका थिए ।