हेटौंडा । मकवानपुरको पशुहरुमा नाम्ले जुका रोगको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा पशुको गोवर परिक्षण गर्दा अधिकांश पशुहरुमा नाम्ले रोग देखा परेको हो ।

गोवर परिक्षणबाट पशुको कलेजो, आन्द्रामा लाग्ने रोग, नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, चेप्टे जुकाबारे थाहा हुने र सोही अनुसार आवश्यक औषधि प्रदान गर्ने गरिएको पशुसेवा विज्ञ केन्द्र पशुस्वास्थ्य प्राविधिक विनिता राईले बताइन् । ‘विज्ञ केन्द्रमा पशुको गोवर परिक्षण गर्दा धेरैमा माटे जुकाको रोग देखियो, बर्षायामको समयमा पशुलाई चिसो र शंखे किरा लागेको घाँसपात खुवाउँदा माटे जुका रोग लाग्ने गरेको छ,’ पशुस्वास्थ्य प्राविधिक राईले भनिन् ।

गाईले घाँस, पानी नखाने समस्या आएपछि हेटौँडा–९, लामसुरेधापकी सावित्री भट्टराई पशुको गोवर परिक्षण गराउन विज्ञ केन्द्र आइपुगेकी थिइन् । उनले अर्धबार्षिक रुपमा गोवरको परिक्षण गराउने र पशुलाई औषधि खुवाउने गर्नुभएको छ । उनीजस्तै अर्का पशुपालक किसानपनि पशुको समस्या लिएर विज्ञ केन्द्र पुगेका थिए ।

गाई ब्याउन डेढ महिना बाँकी रहदा नाम्ले जाँच गराउन हेटौँडाको बसामाडी–३ की लिला ढुंगेल गोवर लिएर विज्ञ केन्द्र आईपुग्नुभएको थियो । उहाँहरु जस्तै विज्ञकेन्द्रमा गाई, भैंसी, बाख्रा र सुंगुरको गोवर लिएर पशुपालक किसान परिक्षणका लागि आउने गरेका छन ।

चालु आर्थिक बर्षको साउनदेखि कार्तिक दोश्रो सातासम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले ७६५ गोवरको नमुना परिक्षण गरेको छ । विज्ञ केन्द्रका अनुसार साउनमा २५३, भदौंमा २१५, असोजमा २८५ र कार्तिक दोश्रो सातासम्म १२ वटा गोवरको नमुना परिक्षण गरिएको हो ।

विज्ञ केन्द्रमा हेटौँडा, मनहरी, गढी, बकैया, बागमती, भीमफेदी र बारा जिल्लाबाट पनि पशुको गोवर लिएर परिक्षण गराउन पशुपालक किसान आउने गर्नुभएको विज्ञ केन्द्रकी सहायक स्तर पाँचौ सुस्मिता अधिकारीले जानकारी दिइन् । विज्ञ केन्द्रले गोवर परिक्षण, एक्स्रे सेवा र नाम्ले जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ ।