हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको सहिद स्मारक पर्यटकको रोजाइमा पर्ने गन्तव्य मध्ये एक हो। हेटौँडा–११ स्थित नवलपुरमा अवस्थित सहिद स्मारक देशकै नमुना सहिद केन्द्रसँगै पर्यटकीय गन्तव्य पनि रहेको छ। २०३७ सालतिर गौचरणका रूपमा रहेको सो क्षेत्र स्मारकका रूपमा विकास भएसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ।

हेटौँडाबाट पूर्वपश्चिम राजमार्ग हुँदै चार किलोमिटरको दूरी पार गरेपछि पुगिने स्मारक नवलपुर सरस्वती सामुदायिक वन क्षेत्रको २० हेक्टर जमिनमा फैलिएको छ। एउटै ढुंगामा  १२ जना सहिदको प्रतिमा रहेको सहिद स्तम्भ यहाँको प्रमुख आकर्षणका रूपमा रहेको छ।

२०५१ मा स्थापना गरिएको उक्त प्रतिमामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको छ। त्यस्तै २०५१ मा मनामोहन बाटिकाको स्थापना गरिएको थियो।

स्मारक परिसरमा जननेता मदन भण्डारीको स्मृतिमा उहाँको दुर्घटनाबाट मृत्यु भएको स्थान दासढुंगाको दृश्य प्रतिबिम्बित हुनेगरी निर्माण गरिएको मदन स्मारक, जनमुखी नेताका रुपमा चिनिने रुपचन्द्र विष्टको स्मृतिमा ‘निष्पक्ष सक्रियताको अभ्यास थाहा’ लेखिएको थाहा स्तम्भ रहेको छ।

जहाँ राष्ट्रिय एकीकरणका लागि देउथलको युद्धमा वीरगती प्राप्त गर्ने भक्ति थापा, राणाहरूको जहानियाँ निरङ्कुश शासनको विरुद्ध जनतालाई मुक्त पार्न जीवन बलिदान गर्ने चार सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंलालाल श्रेष्ठको मुखाकृति निर्माण गरिएको छ। ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्णकदको प्रतिमा पर्यटकको रोजाइको प्रमुख थलोका रूपमा रहेको छ।

स्मारकमा बुद्ध पार्क समेत निर्माण गरिएको छ। यहाँ गौतम बुद्ध जन्मेपछि हिँडेको, बुद्धकी माता मायादेवी, ब्रम्हा र इन्द्रको मूर्ति समेत रहेको छ। यहाँ धरहरा पार्क, ६५ फिट अग्लो र १९ मिटर चौँडाइको सहिद स्तम्भ, पिकनिक स्थल, रजत जयन्ती स्तम्भ, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क, प्रेमलाल स्मृति प्रतिक्षालय, विश्राम स्थल, आवासीय सेमिनार हल, धार्मिक अनुष्ठान तथा विवाह ब्रतबन्धका लागि विवाह मण्डप निर्माण गरिएको छ।

स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको करिब २५ टनको विशाल ढुंगामा ललितकलाका पृथ्वी श्रेष्ठ, गोविन्द चौधरी र कमलेश महर्जनले ११ महिना लगाएर उक्त प्रतिमा निर्माण गरेका हुन्।

विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका सहिदका बारेमा प्रकाशित पुस्तक, जीवनी, लेख रचना र फोटोलगायतका सम्पूर्ण विवरण उपलब्ध हुने गरी सहिदका बारेमा अध्ययन अनुसन्धान एवं खोज गर्नका लागि सहिद अनुसन्धान केन्द्र स्थापना गरिएको छ। सहिद स्मारक संस्कृति तथा अस्तित्वको संरक्षण र स्वतन्त्रता प्राप्तिका निम्ति बलिदानी दिने अमर सहिदको सम्झनाका लागि स्थापित स्वरुपका रुपमा परिचित छ।

स्मारक परिसरमा पर्यटक एकैसाथ बस्न, घुम्न, र फोटो खिच्न मिल्ने गरी आकर्षक बगैँचा, आर्कब्रिज, आराम गर्ने कुर्सीहरू र वरपिपल चौतारीसहितको मैत्री पार्क, मालाकार क्यारी, आधुनिक झोलुङ्गे पुल, झरना पार्क, पौडी पोखरी, बालबालिकाको लागि मनोरञ्जन पार्क निर्माण गरिएको छ। यहाँ करिब तीन विगाहा क्षेत्रफलमा चिडियाघर रहेको छ। ठूलो चरा अस्ट्रीजसहित दुई दर्जनभन्दा बढी जीव जनावर रहेका छन्। यहाँ मकवानपुर, बारा, पर्सा, रौतहट, चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लाबाट दैनिक हजारौँको संख्यामा पर्यटक आउने गरेका छन्।

यहाँ सहिदका बारेमा पूर्ण रुपमा अध्ययन, अनुसन्धान र सहिदप्रति श्रद्धा अपर्ण गर्न मानिस आउने गरेका छन्। यसको संरक्षण, सम्वर्द्धन र निरन्तरताबाट पर्यटकीय पूर्वाधारको विकास भएकाले वार्षिक ५ लाख भन्दा बढी पर्यटकहरू आउने गरेको स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपाने बताए ।

अनिल पराजुली
थप जानकारी