हेटौंडा । पर्यटकीय नगरी मकवानपुरको उत्तरी क्षेत्रमा रहेको पालुङ गढीलाई पर्यटकीय गन्तव्य बनाउने पहल थालिएको छ । थाहा नगरपालिका वडा नं. २ मा अवस्थित पालुङ गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सरकार र स्थानीयवासी जुटेका हुन् । पालुङ गढी सम्म पुग्ने पैदल मार्ग तथा मनोरञ्जन स्थल निर्माण सुरु गरिएको छ ।

२ नं. वडाले पालुङ गढीको संरक्षण एवं प्रवद्र्वनका लागि १५ लाख रुपियाँ बजेट बिनियोजन गरेसंगै स्थानीयले समिति गठन गरेर काम थालनि गरेका हुन् । पालुङ गढी पिकनीक स्पोर्ट निर्माण समिति गठन गरेर वडाबाट विनियोजित बजेर र स्थानीयको २ लाख ५० हजार श्रमदानमा काम थालनी भएको छ । पालुङ गढीमा जानका लागि एकसय मिटरको सिढी निर्माणको कार्य थालनी गरिएको समितिका अध्यक्ष अजय कार्कीले जानकारी दिए ।

थाहा– २ गैरीगाउँको ६० घरधुरीले प्रत्यक घरले चार दिन श्रमदान गर्ने गरि काम थालनी गरिएको अध्यक्ष कार्कीको भनाई छ । एकसय मिटर कालो ढुङ्गाको सिडि,दायाँबायाँ फलामे बार र प्रत्यक बारको दुईभागमा एकसयवटा फाइवरको फेम भएको बत्ती राखिने योजना राखिएको छ । सिढी निर्माणका लागि बिनियोजन गरेको बजेट खर्च हुने भएकाले पिकनीक स्थल निर्माण, आवश्यक भौतिक संरचनाका लागि सहयोगी हातको भरपरेको अध्यक्ष कार्कीले बताए ।

आइ लभ पालुङ गढी लेख्नका लागि अस्ट्रेलियामा रहेका सुरेश थापाले ३५ हजार रुपैयाँ, २० फिटको अग्लो फलामको पाता रहेको नेपालको झण्डाको लागि नेपाली सेनाका प्रवेश बिष्टले १५ हजार, फलामको कुर्सीको लागि गोविन्द कार्कीले १० हजार, गढी जाने बाटोमा पुग्नको लागि बाटो निर्माणको लागि जग्गा पर्ने उद्दव रानामगर र रामशरण राना मगरले जग्गा उपलब्ध गराए ।

परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको र नेपाल एकीकरणका क्रममा पृथ्बीनारायण शाहले पालुङ राज्यमाथि आक्रमण गरी उक्त पालुङ गढी र पालुङ दरवारलाई ध्वस्त बनाएको किम्बदन्ती रहेको छ । गोरखापत्रबाट