हेटौंडा । पशु सेवा कार्यालय हेटौंडा मकवानपुरले मंगलवार जिल्लाका विभिन्न स्थानमा व्यावसायिक कृषिकर्ममा क्रियाशील तीनजना अगुवा कृषकलाई पुरस्कृत गरेको छ ।
जिल्लाको थाहा नगरपालिका वडा नं. ७, डाँडावास कृषि प्रालि मार्फत बाख्रा पालन गरिरहेका इमान सिं थिङ, मनहरी गाउँपालिका–७, रमौलीको रवि व्यवसायीक कृषि फर्म मार्फत कागती र ड्रागन खेती गरिहेका मुना अर्याल र हेटौंडा–१७ स्थित विविआर एग्रो प्रालि मार्फत वोयर जातको बाख्रा पालन गरिरहेका झम्कनाथ सुवेदी (विवेक) लाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको हो ।
तीनै जना कृषकलाई एक कार्यक्रम गरी पुरस्कार प्रदान गरिएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राष्ट्रपति उत्कृष्ट पुरस्कारका लागि छनोट भएका कृषकलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गरे ।
जिल्ला समन्वय समितिको संयोजकत्वमा चितवन ज्ञान केन्द्र सदस्य सचिव र पशु सेवा कार्यालय हेटौंडा मकवानपुर सदस्य रहेको समितिले बनाएको जिल्लास्तरीय उत्कृष्ट कृषक छनोट विधि अनुसार उत्कृष्ट ठहरिएका कृषकलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका लागि जिल्लाभरबाट ११ वटा प्रस्ताव दर्ता भएका थिए । तीमध्ये तीन कृषकलाई बनाइएको मूल्याङ्कनका विभिन्न मापदण्ड अनुसार छनोट गरिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए ।
सम्मान कार्यक्रममा पशुविकास अधिकृत डाक्टर मदन भण्डारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अमिक श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाकी राज्यश्वरी शाही, विक्रम कुमार चाम्लिङ, पशु चिकित्सक डा. विजय पौडेल, मत्स्य विकास अधिकृत सुस्मिता पौडेल लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्