हेटौँडा । चरन क्षेत्रबाटै मह बिक्री हुन थालेपछि मकवानपुरका मौरी पालक किसान उत्साहित भएका छन् । हेटौँडा, मनहरी, राक्सिराङ, मकवानपुरगढी, बकैया लगायतका क्षेत्रका मौरी पालक किसानले महको राम्रो मूल्य पाउन थालेपछि व्यवसायप्रति थप उत्साहि भएका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली तुलसीपुरका मौरी पालक किसान नारायण घिमिरेलाई यतिबेला मह बिक्री गर्न भ्याइनभ्याइ छ । हेटौँडाको आल्दमार, हटिया चिसापानी, हर्नामाडी, खड्कुले, मकवानपुरगढीको डुम्रेकुना, मक्रान्चुली लगायतका क्षेत्रमा मौरी चरनका लागि लैजाँदै आएका घिमिरेले चरन क्षेत्रमै मह निकालेर धमाधम बिक्री गरिरहेका छन् ।
“बजारको कुनै समस्या छैन, चरन क्षेत्रबाटै मह बिक्री हुन्छ,” घिमिरेले भने, “मह काढ्ने मेसिन पनि फिल्डमै लैजाने गरेको छु । मौरी चरन क्षेत्रमा नै स्थानीयले मह खरिद गर्नुहुन्छ ।” उनले प्रतिकेजी एक हजार रुपैयाँमा मह बिक्री गर्दै आएका छन् । उत्पादन भएको अधिकांश मह काढेकै स्थानबाट बिक्री हुने गरेको उनको भनाइ छ । “बजार नपाइएला, बिक्री नहोला भन्ने चिन्ता छैन, उत्पादन भएको जति सबै बिक्री भएको छ,” उनले थपे ।
तोरीको सिजनमा तीन पटकसम्म र फापर तथा रुदिलोको सिजनमा दुई पटकसम्म गरी वर्षमा करिब पाँच पटक मह काढ्ने गरिएको घिमिरेले बताए । सिजनअनुसार व्यावसायिक तरकारी तथा फूल खेतीसँगै मौरीपालन गर्दै आएका घिमिरे बजार राम्रो पाएकोमा उत्साहित छन् । विगत तीन वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका घिमिरे दम्पतीले तोरी फुलेका बेला जिल्लाका विभिन्न स्थानमा मौरी चरनका लागि लैजाने गरेका छन् ।
जाडोयाममा मौसम परिवर्तन हुँदा मह काढ्न कठिन हुने गरेको किसानको भनाइ छ । सफा र घाम लागेको मौसममा मात्र मह काढ्न उपयुक्त हुने र चिसो मौसममा मह काढ्दा मौरी रिसाउने तथा काम गर्न समस्या हुने घिमिरेले जानकारी दिए । मौरी चरन स्थानान्तरण गर्नु अघि मह काढ्ने गरिएको उनको भनाइ छ ।
हाल १६ वटा गोला मौरी पाल्दै आएका घिमिरेले मौरीका गोला तयार पारेर बिक्रीसमेत गर्दै आम्दानी गर्दै आएका छन् । “पहिला ३१ वटा गोला थियो, १० गोला बिक्री गरियो, अहिले २१ वटा बाँकी छन्,” उनले भने, “बर्खामा किरा, कमिला र चराका कारण मौरी घटेको हो ।” फागुनपछि मौजुदा गोलालाई दोब्बर बनाउने लक्ष्यसहित काम गरिरहेको उनले बताए ।
माहुरीको घार र महको माग बढ्दै गएपछि व्यवसाय विस्तार गर्दै लगिएको घिमिरेले जानकारी दिए । ‘एपिस मेलिफेरा’ जातको मौरी पालन गर्दै आएका उनका अनुसार यस व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । आर्फैले रानो उत्पादन गरी गोला वृद्धि गर्न सकिने उनको भनाइ छ ।
मह बिक्रीका लागि बजारको समस्या नरहेको बताउँदै घिमिरेले गत वर्ष २६० केजी मह उत्पादन गरी बिक्री गरेका थिए । यस वर्ष चार क्विन्टल मह उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । खर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँसम्म आम्दानी हुने उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्