काठमाडौं । ग्रान्डी अस्पतालकी चिकित्सक डा. प्रिती भुषालको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ ।

आज बिहान आफ्नो टोलीले सगरमाथा आरोहण गरेको डा. भुषालले फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । नेपाली महिला चिकित्सकले सगरमाथा आरोहण गरेको यो पहिलोपटक हो ।

अर्घाखाँची स्थायी घर भई हाल काठमाडौंको बाँसबारीमा बस्दै आएकी भुषाल सानैदेखि हिमाल आरोहणमा विशेष रुची राख्थिन् । भुषालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसकेकी छिन् ।

कोभिड—१९ को लडाइँविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक, फर्मासिस्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायत योगदानको उच्च सम्मानका लागि आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

यस्तै, जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पु¥याउन भन्दै उनीसहितको टोली गएको चैत २९ गते सगरमाथा यात्रामा निस्किएको थियो ।